धनकुटा/ मङ्गोलियन हर्टका गायक राजु लामाले सोमबार साँझ धनकुटाको हिलेमा आयोजना गरिएको बृहत् साङ्गीतिक कार्यक्रममा पूर्वका हजारौं दर्शकलाई नचाएका छन् ।

हिले ब्याडमिण्टन क्लब र सिर्जनशील सांस्कृतिक समूहको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा राजुलाई सुन्न दर्शकहरूले रातको ९ बजेसम्म कुर्नु प¥यो । लामाले पहिलो कोसेलीको रूपमा ‘तिमीलाई म भुल्न सक्दिनँ’ बोलको राष्ट्रिय भावको गीत गाए ।

उनलाई प्रत्यक्ष सुन्न पूर्वका विभिन्न ठाउँबाट युवायुवती आएका थिए । राजुले ‘तिमीलाई देखेर, हल्ला चलेछ, दिल बस्यो तिमीमा, यो जुनीमा, जुन झैं मुहार’ लगायत २ दर्जन बढी गीत गाएर दर्शकलाई नचाए ।

हिलेको पर्यटन प्रवद्र्धन गर्ने र ब्याडमिण्टन कभर्ड हलमा काठको पार्केटिङ बनाउनका लागि आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको हिले ब्याडमिण्टन क्लबका अध्यक्ष राम गोङ्वा तामाङले बताए ।

उनले लाइभ कन्सर्ट आयोजना गर्न करिब १२ लाख खर्च भएकोमा हाउजी बिङ्गोको टिकट बिक्रीबाट ८ लाख, १ नं. वडा कार्यालय हिलेले १ लाख र धनकुटा नगरपालिकाले ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताए । तामाङले खर्च गरेर बचेको रकम सिर्जनशील सांस्कृतिक समूह र हिले ब्याण्डमिण्टन क्लबले आधा–आधा पूर्वाधार विकासमा खर्च गर्ने बताए । कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहेको थियो ।