विराटनगर/ बढी भाडा लिने सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाए पनि यात्रु ठगिने क्रम रोकिएको छैन । दशैं मनाउन घर आएका र फर्किने यात्रुसँग मनलाग्दी भाडा असुल गरी ठगी गर्ने गरेको पाइएको हो ।

राजमिस्त्री काम गर्ने विराटनगर–४ कञ्चनबारीका बाबुराम सरदार दशैं मनाएर काठमाडौं फर्किदा टिकट काउन्टरबाट ठगिए । डिलक्स गाडी भनेर १ हजार ३ सय रूपैयाँ तिरेका उनलाई लोकल बस ना.३ ख ६९७८ नम्बरको गाडीमा हालेर पठाइयो । तर, ट्राफिक प्रहरीको नियमित चेकजाँचको क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित निमुवामा बढी भाडा असुली गर्ने सवारी कारबाहीमा पर्यो ।

विराटनगरदेखि काठमाडांै गएको डिलक्स बसको भाडा १२ सय ४८ रुपैयाँ र साधारण सेवातर्फ बसको भाडा ९ सय ८५ रुपैयाँ छ । तोकिएको भन्दा बढी असुली गर्ने बसलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट निमुवाले आइतबार नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मोरङ प्रहरी पठाएको असइ तुलामणि आचार्यले जानकारी दिए ।

त्यस्तै विराटनगरबाट दशैं मान्न भोजपुर घर हिँडेकी सुस्मिता दाहालले पनि ७ सय भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ तिरेर यात्रा गर्न बाध्य भइन् । ‘गाडीवालाले भनेजति पैसा नदिए सिधै लाँदिन भन्ने गर्दछ’ उनले भनिन्, ‘आफूलाई दशैं मनाउन घर जानुपर्ने थियो । उनीहरूले भनेजति पैसा तिरेर जानुप¥यो ।’ यी प्रतिनिधि मूलक घटना हुन् ।

ट्राफिक प्रहरीले दशैंको बेलामा बढी भाडा असुली गर्ने २६ वटा गाडीलाई कारबाही गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता इन्स्पेक्टर राजेश राईले जानकारी दिए । उनका अनुसार दशैंको घटस्थापना असोज १२ देखि आइतबारसम्म चाडको मुखमा घर जाने र फर्किने यात्रुलाई बढी भाडा असुली गर्ने सवारी साधनलाई कारबाही गरेको बताए । यात्रुहरूबाट बढी लिएको भाडा रकम फिर्ता गराई सवारी चालक तथा धनीलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिएको प्रहरीको भनाइ छ ।

१४ जिल्ला रहेको प्रदेश १ मा यात्रुबाट बढी भाडा असुली गर्ने सवारी साधन सबैभन्दा बढी उदयपुरमा कारबाहीमा परेको छ । उदयपुरमा १० वटा सवारी साधन कारबाही गरी १८ हजार रूपैयाँ राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । यस्तै ओखलढुङ्गामा ४, सोलुखुम्बुमा ३, धनकुटा र सङ्खुवासभामा १–१ वटा सवारी साधन यात्रुहरूबाट बढी भाडा असुलीमा कारबाहीमा परेका हुन् । कारबाहीमा परेको सवारी साधनबाट ३२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी कारबाहीमा पर्नेमा टाटा सुमो र बसहरू छन् ।

अहिले पनि विराटनगर क्षेत्रमा केही कम्पनीहरूले साधारण बस सेवाको स्वीकृति लिएर स्तरीय सेवा दिने ‘डिलक्स’ भनेर सञ्चालन गर्दै आएका छन् । उनीहरूले डिलक्स नाम लेखेर यात्रुसँग बढी भाडा असुली गरे पनि नियमनकारी निकायले चासो देखाएको छैन । कानूनविपरीत डिलक्सको स्वीकृति लिएर सिट सङ्ख्या थप्न र साधारण बस सेवाको स्वीकृति लिएर डिलक्स लेख्न पाइँदैन ।