विराटनगर । विराटनगरका सेमानन्द यादव हत्या प्रकरणमा विराटनगर – १४ का २७ वर्षिय दिपेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधीश राजकुमार कोइरालाको इजालशले यादवलाई शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदाल मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए । मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६७ को उपदफा १ बमोजिम यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो ।

अदालतको आदेशपछि यादव जिल्ला कारागार मोरङ चलान भएका छन् । दिपेश विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादवका भतिज हुन् । वडा अध्यक्ष यादवलाई पनि यो मुद्दामा प्रतिवादी बनाएको छ । उनी अहिले फरार छन् । सरकारी वकिलको कार्यालयले अभियुक्त दिपेशसहित अन्य ९ जनालाई फरार प्रतिवादी बनाएर बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।

अभियुक्त यादवको अदालतमा बयान सकिएपछि शुक्रबार थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसमा वादीकोतर्पबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्याधिवक्ता मनोजकुमार आचार्यले बहस गरेका थिए । सेमानन्दको कुटपिट पछि हत्या आरोपमा विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष ६५ वर्षिय बलदेव यादव, १८ का वडा अध्यक्ष ३५ वर्षिय संजय साह भन्ने संजय कुमार साह र मोरङको जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदिप भनिने प्रदिपचन्द यादवलाई अदालतले पक्राउ पूर्जी सहितको म्यात जारी गरेको हो ।

त्यस्तै वडा अध्यक्ष बलदेवका ३० वर्षिय छोरा रविन यादव, विराटनगरका ५५ वर्षिय विन्देश्वर यादव, सोही ठाउँका ३२ वर्षिय विजय भन्ने शम्भू यादव, भोला भनिने भोलु यादव, विरेशकुमार यादव र मोरङ जहदा गाउँपालिका १ का ४२ वर्षिय दिनेश प्रसाद यादवलाई पनि पक्राउ पूर्जी सहितको म्यात जारी भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । अदालतले म्यात जारी गरेको समय सिमामा अदालतमा प्रतिवादीहरू उपस्थित हुनुपर्दछ । समयसिमा उनीहरू उपस्थित नभएन अदालतले आफ्नो प्रक्रिया अगाडी बढाउँछ ।

गत जेठ ३२ गते विवाहको पञ्चेतीमा वडा अध्यक्षहरू सहित १० जनाबाट कुटिएका सेमानन्द यादवको असार २६ गते राती विराटनगरस्थित कोशीअञ्चल अस्पतालमा निधन भएको थियो ।

विवाहको विषयमा भएको कुटपिटमा घाइते बनाएका सेमानन्दकोे मृत्यु भएपछि वडाअध्यक्षहरू फरार छन् । प्रहरीले उनीहरूलाई खोजी गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । उनीहरू भारततर्फ फरार भएकोले पक्राउ गर्न प्रहरी असफल भएको छ ।

प्रहरीले हत्या आरोपी वडाअध्यक्ष सहित अन्य आरोपीहरू खोजी गर्न जिल्ला प्रहरी कार्यालय मोरङका सादा पोशकका दुई जना सहिको नेतृत्वमा खटिएको प्रहरी टोली भारतको विरनपुरसम्म पुग्दा पनि अहिले सम्म सफलता हासिल गरेको छैन ।