विराटनगर/ धरानस्थित सभागृह हलमा तीनदिने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । १ नम्बर प्रदेश सरकार र चलचित्र विकास बोर्डको आयोजनामा आउँदो कार्तिक २२ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको हो ।

महोत्सवमा नेपाल र विदेशका गरी छनौट भएका २५ वटा सटमुभी प्रदर्शन हुने प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । चलचित्र महोत्सवमा कला, संस्कृति विविधता बोकेका चलचित्रहरू अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुने १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । ‘प्रदेश सरकारको २०७६/०७७ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम प्रदेश १ मा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्न लागेका हौं’ उनले भने, ‘महोत्सवमा भाषा, साहित्य, भूगोलसँग सम्बन्धित चलचित्रहरू प्रदर्शन हुनेछ ।’

चलचित्र महोत्सव सफल बनाउन युद्धस्तरको तयारीमा सरकार लागिपर्ने उनले बताए । ‘नेपाली चलचित्रको इतिहास र यसको वृत्ति विकासमा यस्ता महोत्सवले ठूलो टेवा पु¥याउँछ’ –मन्त्री कार्कीले भने । यस्तो खालको चलचित्र महोत्सवले नेपाली चलचित्रको वृत्ति विकास र अगाडि बढ्न चलचित्र नगरिमा कोसेढुङ्गा सावित हुने मन्त्री कार्कीको भनाइ थियो । प्रदेश नम्बर १ को संस्कृति, परम्परा तथा भेषभूषालाई चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।

तीन दिनसम्म सञ्चालन हुने चलचित्र महोत्सवको सहकार्य धरान उपमहानगरपालिका र स्वीस विकास नियोगसँग पनि गरिएको चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताए । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सातवटै प्रदेशमा हुने उनले जानकारी दिए । प्रदेश १ मा हुने चलचित्र महोत्सवमा छनौट परेका बाहेक अन्य पुराना १० वटा नेपाली चलचित्र पनि प्रदर्शन गरिने उनले बताए । पुरानो चलचित्र ‘आमा’ जस्तै अन्य चलचित्र पनि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवमा प्रदर्शन गरिन छनौटमा परेका चलचित्र प्रदेश १ मा परिवेश बनाएका चलचित्रहरू रहेको उनले बताए ।

चलचित्र महोत्सव हुने एक हप्तासम्म प्रदेश १ को सिनेमा हलहरूमा हिन्दी चलचित्र नलगाउन सिनेमा हलका सञ्चालकहरूलाई पनि आग्रह गरिने अध्यक्ष भट्टराईले बताए । ‘त्यसको लागि प्रदेशका मुख्यमन्त्रीज्यूलाई पनि हामीले यो प्रस्ताव राखेका छौं’ उनले भने, ‘महोत्सवभरि नेपाली चलचित्रमात्र हलहरूमा लगाएर नेपाली सिनेमामय बनाउनु पर्दछ ।’ त्यसका लागि बिहीबार झापाको दमकमा सिनेमा हलका सञ्चालकहरूसँग छलफल पनि गरिने अध्यक्ष भट्टराईले जानकारी दिए ।

महोत्सवको अवसरमा विराटनगर, दमक जस्ता पूर्वका प्रमुुख शहरमा युुवा तथा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिने प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए । महोत्सवलाई लक्षित गरी विभिन्न समितिहरूसमेत गठन भएको उनले बताए ।

मुख्यमन्त्रीको अध्यक्षतामा निर्देशक समिति अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा निर्देशक समिति रहेको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा मूल आयोजक समिति र प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीको संयोजजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको संयोजकत्वमा चलचित्र छनौट समिति गठन भएको छ । त्यस्तै नेपाल पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइटेलको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति बनेको छ ।