विराटनगर/ आयातित तरकारी खरिद गर्ने व्यापारीहरूले पुरानो विषादी परीक्षण गरेको रिपोर्ट देखाएर भारतीय तरकारी नेपाल भित्र्याउने गरेको पाइएको छ ।

जोगवनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको ६ सय केजी तरकारी मोरङ प्रहरीले मङ्गलबार बिहान विराटनगरस्थित विराट आँखा अस्पतालअगाडिबाट बरामद गरेपछि यस्तो रहस्य खुलेको हो ।

आयातित तरकारीको विषादी परीक्षण गर्न झापाको बिर्तामोडस्थित विषादी अवशेष द्र्रुत विश्लेषण प्रयोगशाला इकाईमा लानुपर्ने झन्झट र विराटनगरदेखि करिब १ सय किलोमिटर टाढा भएको कारणले गर्दा व्यापारीहरूले चलाखी गरेर पुरानो परीक्षण रिपोर्ट देखाएर तरकारी भिœयाउने गरेका हुन् । व्यापारीहरूले आयातित तरकारी भिœयाउन निकै चलाखी पनि गरेको पाइएको छ । उनीहरूले दुईसाता बढी पुरानो बिल र विषादी परीक्षणको प्रमाण–पत्र देखाएर तरकारी भिœयाउने गरेको खुलेको छ ।

दुईसाता बढी पुरानो विषादी परीक्षणको प्रमाण–पत्र र बिलको आधारमा व्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि ४ ठेला तरकारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बरामद गरिएका तरकारी विराटनगर भन्सार कार्यालमा बुझाएको उनले बताए । प्रहरीले बरामद गरेका तरकारीमा परवल, गोलभेंडा, चटेल र खुर्सानी आदि रहेका छन् ।

बरामद गरिएका तरकारीको साउन ३० गते भन्सार बिल काटिएको छ भने साउन ३१ गते बिर्तामोडस्थित विषादी अवशेष द्र्रुत विश्लेषण प्रयोगशाला इकाईबाट विषादी परीक्षण गरिएको प्रमाण–पत्र तरकारी ल्याउँदै गरेको ठेलाचालकसँग भेटिएको छ । प्रहरीको आँखा छल्न व्यापारीको निर्देशनमा ठेलावालाहरूले बिल र विषादीको प्रमाण–पत्र दुईसाता पुरानो देखाएर नेपालमा तरकारी भित्र्याउने गरेका छन् ।

विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ । बरामद गरिएका तरकारी र बिलमा उल्लेख गरिएको परिमाणसमेत फरक–फरक छ । बिलमा काँक्रा, हरियो खोर्सानी उल्लेख नगरिएको भए पनि ती सामग्रीसमेत ठेलामा लोड नरहेको भेटिएको छ ।

व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा एउटै बिल र प्रमाण–पत्र देखाएर पटक–पटक तरकारीलगायतका सामग्री ओसार्ने गरेको बुझिएको छ । यता विराटनर भन्सार कार्यालय विराटनगरका सूचना अधिकारी मनिराम पौडेलले आयातित तरकारीको विषादी परीक्षण नगरी नेपाल भिœयाउन नपाउने गरेको बताए ।

‘विषादी परीक्षण गरेर खानयोग्य भएको परीक्षण रिपोर्ट आएपछि मात्र हामीले जाँचपास गरिदिने गरेका छौं’ उनले भने, ‘प्रहरीले मङ्गलबार बरामद गरेको तरकारीको विषयमा भने म अनभिज्ञ छु । म अहिले काठमाडौंमा छु । कार्यालय आएर बुझेर मात्र यस विषयमा भन्नेछु ।’ विषादी परीक्षण बेगर भित्रिएको तरकारी भए विषादी परीक्षण गर्न बिर्तामोडस्थित ल्यावमा पठाइने उनले बताए ।