पाँचथर/ असार ३ गते भएको सुजाता तामाङ हत्यामा संलग्नलाई बालक भएको भन्दै बाल सुधार गृह पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार जिल्ला न्यायाधीश मनोज केसीको इजलासले हत्यामा संलग्न हिलिहाङ–६ भारपाका घनेन्द्र लाओतीलाई बाल सुधार गृह पठाउन आदेश दिएको हो ।

हत्यापछि पक्राउ परेका लाओतीले अदालतसमक्ष आफू १७ वर्षको मात्र भएको बयान दिएका थिए । उनको जन्मदर्ताको प्रमाण–पत्र हेर्दा जम्मा १७ वर्ष सात महिना मात्र पुगेको प्रमाणित भएकाले सुधार गृह पठाउन आदेश दिएको अदालतले जनाएको छ ।

लाओतीले हिलिहाङको गोपेटार बजारस्थित एनएमबी माइक्रोफाइनान्समा कार्यरत इलाम माईजोगमाई–५ सोयाक घर भएकी तामाङको हत्या गरेका थिए ।

हिलिहाङ–६ भारपामा दुईवटा समूहको मासिक बैठक सकेर कार्यालय फर्किरहेको बेला जङ्गलबीचमा लाओतीले तामाङको हत्या गरेका थिए । लाओतीले हत्या गरी तामाङको साथमा रहेको समूहका सदस्यहरूबाट सङ्कलित ८१ हजार सातसय रुपैंयाँ लुटेका थिए ।