धरान । सामान्यतः होमस्टे (घरबास) भन्ने बित्तिकै दिमागमा परम्परागत घरमा खाना खाने, सुत्नेलगायत भन्ने नै आउँछ । तर, पोखरा महानगरपालिका–२२ को कालावाङ घरेडी सामुदायिक होमस्टे केही फरक छ ।

जहाँ विदेशी पाहुना तथा नागर क्षेत्रमा हुर्किएका नेपाली युवायुवतीलाई नेपाली मौलिक संस्कार, संस्कृतिको बारेमा जानकारी दिने गरेको छ । ५ वर्षअघि स्थापना भएको यो होमस्टे अहिले त्यसैका लागि प्रख्यात छ । जहाँ कोरिया, जर्मनलगायत देशबाट विद्यार्थीहरू अध्ययनका लागि आइपुग्छन् । काठमाडौंबाट पनि ‘सोसोलोजी’ अध्ययन गर्ने विद्यार्थीहरू कालावाङ होमस्टेमा पुग्ने गरेको अध्यक्ष प्रकाश गुरुङले बताए ।

home-stay-pokhara-kalabang

‘यहाँको होमस्टेमा बस्ने, खाने मात्रै हैन, हराउँदै गएको मौलिक संस्कार र संस्कृतिको पनि ज्ञान दिन्छौं ।’ सोमबार धरानमा गरिएको पत्रकार सम्मेलनमा उनले भने । कालावाङमा १ सय ५६ घरधुरी छन् । जहाँ गुरुङ र दलितको बाहुल्यता छ भने ब्राह्मणक्षेत्री सीमित छन् । ६२ घरधुरी गुरुङको छ । दलितको ६६ र ब्राह्मणक्षेत्रीको २८ घरधुरी छ । ‘समावेशी चरित्रको होमस्टे छ ।’ अध्यक्ष गुरुङले भने । १ सय ५६ घरधुरीमध्ये १८ वटा घरमा अहिले होमस्टे सञ्चालित छ । जहाँ ३२ वटा रूम र ८५ वटा बेडहरू छन् ।

कालावाङको इतिहास २ सय ५० वर्ष पुरानो रहेको छ । त्यसअघिसम्म घना जङ्गल रहेको थियो । त्यसलाई फाडेर बस्ती बसालियो । त्यसयता बनेको कालावाङले अहिले गुरुङको संस्कार, संस्कृतिमात्रै हैन, अन्य जातजातिको संस्कार, संस्कृति कस्तो अवस्थामा थियो, अहिले के छ ? कसरी लोप हुँदै गयो भन्नेसम्मको जानकारी गराउने गरेको बजार संयोजक रविन्द्र गुरुङले बताए ।

‘संस्कारजन्य कुरा देखाएर हामी गेष्ट नाइट बढाउँछौं’ उनी भन्छन्, ‘विदेशीलाई हामी दैनिक कामकाजको बारेमा जानकारी मात्रै गराउँदैनौं, अभ्यासका रूपमा भारी बोकाउँछौं, दूध दुहुन लगाउँछौं । उनीहरूका लागि त यस्ता कुरा एडभेञ्चर भए नी ।’ विकसित देशहरूमा यस्ता कुरा सबै मेसिनरीमार्फत् हुन्छन्, नेपालमा अहिले पनि हातैले हुने भएकाले उनीहरू त्यसमा रमाउने गरेको उनको अनुभव छ ।

११५ वर्ष पुरानो गोलघर

कलावाङको अर्को विशेषता छ । जहाँ १ सय १५ वर्ष पुरानो घर अहिले पनि अवस्थित छ । जसलाई समितिले जीर्णोद्धार गरेको छ । त्यो घरलाई सङ्ग्राहालयको रूपमा विकास गर्ने लक्ष्य राखिएको बजार संयोजक रविन्द्र गुरुङले बताए । ‘हामीले यो विशेषतालाई बेच्न सकेका छैनौं’–उनी भन्छन् । त्योपछि उनकै घर सबैभन्दा पुरानो हो । ८५ वर्ष पुगिसकेको छ । जहाँ ३ वटा कोठा होमस्टेका लागि तयार गरिएका छन् । ८ वटा बेड छन् । ‘यो एङ्गलबाट हामीले बेचिरहेका छैनौं’–उनले भने, ‘अब त्यो पनि गर्न सकिने रहेछ भन्ने आजबाट थाहा भयो ।’

परम्परागत घरहरू होमस्टेका लागि लाभदायक मानिन्छन् । जुन जैविक विविधताका हिसाबले पनि उपयुक्त हुने होमस्टेका जानकारहरू बताउँछन् ।

वार्षिक ७ हजार भन्दा बढी पर्यटक

कालावाङमा वार्षिक ७ हजार भन्दा माथि आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन् । जसमा १० प्रतिशत बाह्य पर्यटकहरू पुग्ने अध्यक्ष प्रकाश गुरुङ बताउँछन् । भन्छन्, ‘२०७५ मा ७ हजार २ सय ५३ जना आन्तरिक तथा बाह्य पर्यटक आएको तथ्याङ्क छ । त्यसमध्ये १० प्रतिशत विदेशी छन् ।’ तर शुरुवातको २ वर्ष भने निराशाजनक अवस्थामा सञ्चालन गरेको उनले बताए ।

के छन् विशेषता

कालावाङमा अग्र्यानिक चिया तथा कफी, गाउँमै उत्पादित खानेकुराहरू, पिकनिक स्पट, विदेशीका लागि हलो जोत्ने, ढिँकी, जाँतो, भैँसी दुहुने, दही मोथ्ने, पुरानो गोलघर र मौरीघारकोअवलोकन रहेका छन् । सूर्योदय र सूर्यास्तको अवलोकन पनि गर्न सकिन्छ ।

कसरी पुग्ने ?

काठमाडौंबाट करिब २ सय किलोमिटर दूरीमा रहेको पोखरापछि करिब साढे १२ किलोमिटर दूरीमा कालावाङ गाउँ आइपुग्छ । पोखराको लोकसाइड, स्याङ्ग्जा जाने सिद्धार्थ हाइवो हुँदै विरौटा, डेभिजफल, तिलाहार, कालावाङ घडेरी होमस्टे पुग्न सकिन्छ । सिद्धार्थ राजमार्गबाट करिब साढे २ किलोमिटर कच्ची सडक छिचोल्दै पुग्न सकिन्छ ।

home-stay-kalabang-pokhara-22 (3)

home-stay-kalabang-pokhara-22 (1)