भुटानी अभिनेत्री उग्येन छोदेन नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।
हालै नेपाली म्युजिक भिडियो ‘गोरी गोरी’मा अभिनय गरेकी उनले दुई वटा नेपाली फिल्ममा समेत काम गर्ने पक्का भएको छ । उनले अभिनय गर्ने फिल्ममा एउटा आउँदो असोजदेखि शुरु हुने छ भने अर्को माघदेखि शुरु हुने बताइएको छ । जीवनमै पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेकी उनी आफूले खुब रमाइलो गरेको बताउँछिन् । म्युजिक भिडियोको सुटिङ गर्दा उनी नेपाली संस्कृति झल्कने पहिरनमा थिइन् । आफूलाई नेपाली पोशाकमा निकै रमाइलो लागेको उनले सुनाइन् ।

नेपाली फिल्म क्षेत्रसँग उग्येनको सम्बन्ध जोडिएको २ वर्ष पुगेको छ । ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा भाग लिन नेपाल आएपछि उनले नेपाली सिने क्षेत्रका केही व्यक्तिसँग नजिक हुने अवसर पाएकी थिइन् । त्यतिबेला उनले फिल्मबारे अझ बुझिन् । नेपाली फिल्मबारे धेरै कुरा थाहा पाइन् । फिल्म क्षेत्रमा लागेसँगै सामाजिक सञ्जालमा जोडिएकी उनको फेसबुक पेजमा १८ हजार लाइक छ भने र इन्स्टाग्राममा १२ हजार फलोअर छन् । ८ लाख जनसङ्ख्या भएको देशकी अभिनेत्रीका लागि यो सङ्ख्या ठूलै हो । भुटानमा ३ लाख हाराहारी फेसबुक प्रयोगकर्ता छन् ।
अनौपचारिक माध्यम भाषा नेपाली रहेको भुटानमा अधिकांश मान्छे नेपाली बुझ्छन् ।

कलाकार हुनुभन्दा अगाडि नै राजेश हमालको फिल्म हेरेको उनले बताइन् । भुटानमा अभिनेत्री हुँदै निर्देशक भइसकेकी उनी नेपाल र भुटानबीच फिल्म निर्माण टेक्निकमा खासै फरक नरहेको बताउँछिन् । फिल्म उनको सपना थिएन । बरु उनी पत्रकार बन्न चाहन्थिन् । समयले उनलाई नायिका बनाइदियो । भुटानमा सबैमाझ चिनायो । अब उनको पहिचान दायरा अझ पराकिलो हुँदैछ । ‘म अहिले नै यहाँ पुग्छु भनेर सपना देख्दिनँ तर निरन्तर काम गरिरहन मन छ’, उनी भन्छिन् ।