धरान/ साढे आठ हजारभन्दा बढीको ज्यान जाने गरी आएको विनाशकारी भूकम्पको ‘भय’ अझै नेपालीजनमा ताजै छ ।

गोरखाको बारपाकलाई ‘इपिसेण्टर’ बनाएको चार वर्ष पूरा भए पनि नेपालीजनले त्यो ‘कालोदिन’ भुल्न सकेका छैनन् । जसले ८ हजार ५ सय ५६ जनाको ज्यान मात्रै लिएन, २२ हजार ३ सय ९ जनालाई घाइते बनायो । २ हजार ६ सय ७३ वटा सरकारी भवन पूर्णरूपमा क्षति भए भने ३ हजार ७ सय ५७ वटा सरकारी भवन आंशिक क्षति भए । ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणको घर पूर्णरूपमा क्षति भए । २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति पु¥यायो । यस्ता प्रकृतिका विनाशकारी महाभूकम्पहरू नेपालमा ८० देखि १०० वर्षको हाराहारीमा आउने गरेको छ ।

७ दशलमव ८ म्याग्निच्युडको विनाशकारी भूकम्पले क्षति भएका घर तथा सरकारी भवन पुनःनिर्माण कार्य अहिले पनि चलिरहेका छन् । यो महाभूकम्पले विश्वसम्पदाको सूचीमा रहेका पुरातात्विक मठमन्दिर, धरहरा, वसन्तुपुर दरबार र रातो मच्छिन्द्रथानको मन्दिर ध्वस्त भए । यी सम्पदा निर्माणको शुरुवाती चरणमा छन् । अहिले पनि सरकारले मूर्तता दिन सकेको छैन । जसका कारण सरकार आलोचित बन्दै आइरहेको छ । बारपाक इपिसेन्टरले राजनीतिक पार्टीहरूलाई पनि एक ठाउँमा उभ्यायो । यसले मधेश, पहाड र हिमाललाई जोड्ने सेतुका रूपमा चित्रण गरियो । मधेशले पनि राहतमार्फत् पहाडसँग सम्बन्ध गाँस्यो । त्यो बेला ‘के मधेश, के पहाड, के हिमाल’ सबै एउटै भन्ने सन्देश प्रवाह ग¥यो । २०७२ वैशाख १२ गते शनिबारका दिन ११ बजेर ५६ मिनेट जाँदा आएको विनाशकारी भूकम्पको गहिराइ १५ किलोमिटर रहेको बताइन्छ । जसले गर्दा बढी क्षति हुन पुगेको बताइन्छ ।

सरकारले भूकम्प गएको वर्षको साउनदेखि नै विश्व सम्पदाको सूचीमा रहेका पुरातात्विक मठमन्दिरको पुनर्निर्माणको काम शुरु गर्ने बताएको थियो । तीन चरणमा गरिने गरी तय गरिए पनि हालसम्म त्यस्ता मठमन्दिर तथा पुरातात्विक सामग्रीको काम अगाडि बढ्न सकेको छैन । तर, बुधबार काभ्रेपलाञ्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको दाबी गरेका छन् । ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला गठन भएको प्राधिकरणले आफ्नो बहिर्गमनसँगै काम गर्न नसकेको बताए । ‘हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो । त्यसपछि पुनःनिर्माणभन्दा राजनीति गर्ने प्रमुखहरू ल्याइए’ उनले सम्बोधनका क्रममा भनेका थिए, ‘जसले गर्दा पुनःनिर्माणको गति एकदमै सुस्त भयो ।’

तात्कालीन समयमा राष्ट्रिय योजना आयोगको टोलीले गरेको एक सर्वेमा क्षतिको आँकलन ७ खर्ब गरेको थियो । विपत्तिपछिको आवश्यकता आँकलन (पोष्ट डिजेस्टर निड्स एसेसमेन्ट–पीडिएनए) तयार गर्न राष्ट्रिय योजना आयोगको नेतृत्वमा गठित समितिले सो मूल्य बराबरको क्षति भएको प्रतिवेदन तात्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएको थियो । त्यो प्रतिवेदनअनुसार अहिले पनि पुनःनिर्माणको चरणमा रहेको छ ।

नेपालमा ठूला भूकम्प
१२१८ को भूकम्प
१३१६ को भूकम्प
१४६५ को भूकम्प
१७३७ देखिका भूकम्प
१८९० देखि गएका भूकम्प
१९९० को भूकम्प
२०४५ को भूकम्प
२०६८ को भूकम्प
२०७२ को भूकम्प

बुधबार बिहान धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । खानी तथा भूगर्भ विभागको भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान ६ बजेर २९ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ । त्यस्तै ६ बजेर ४० मिनेटमा अर्को भूकम्प गएको केन्द्रले मापन गरेको रेकर्डमा उल्लेख छ । जुन ४ दशमलव ३ म्याग्निच्युडको रहेको जनाइएको छ । यो भूकम्पलाई चार वर्षअघि बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको पराकम्पको रूपमा लिइएको छ । केन्द्रका अनुसार नेपालमा पछिल्लो तीन वर्षमा ४४ हजार पटक भूकम्प गएका छन् । यी दुई भूकम्प सामान्य र मध्यम वर्गको भूकम्प रहेको बताइन्छ । ४ दशमलवदेखि माथि ४ शदलमव ९ सम्मको भूकम्पलाई सामान्य मानिन्छ भने त्यसभन्दा माथि ५ दशमलव ९ सम्मलाई मध्यम वर्गको भूकम्प मानिन्छ ।