दमक/ दमकस्थित कन्काई बैङ्कले झापाको कचनकवल गाउँपालिका–५ को जानकी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।   
 
अन्तर्राष्ट्रिय संस्था लुथरन वल्र्ड फेडेरेशनको सहकार्यमा सोमबार विद्यालयमा एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले विद्यालयमा अध्ययनरत विपन्न छात्रछात्राहरूलाई सहयोगस्वरूप स्कुल ब्याग, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रम लुथरन वल्र्ड फेडेरेशन दमकको सहकार्य तथा स्थानीय संस्था एसएनजेडीको समन्वयमा सम्पन्न भएको थियो ।
 
कार्यक्रममा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत( सिइओ ) प्रकाशमान बज्राचार्य, लुथरन वल्र्ड फेडेरेशनका हुकुम सार्की र एसएनजेडीका सोमनाथ भट्टराईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कचनकवल गाउँपालिकाका उपमेयर निमसरी राजवंशी, विद्यालयका प्रधानअध्यापक मोहम्मद सैफुद्दिन हकलगायत अभिभावकलगायतका स्थानीयको उपस्थिति रहेको थियो । सिइओ बज्राचार्यले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए । यसअघि बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको समृद्धिका लागि दमकस्थित पृथ्वी माध्यमिक विद्यालयलाई पठन–पाठनका विभिन्न सामग्री तथा उपकरण खरिद गर्न आर्थिक सहयोगसमेत उपलब्ध गराएको थियो ।  
 
कन्काई विकास बैङ्क लिमिटेडले आफ्नो कार्यक्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व तथा बैङ्किङ सचेतनासम्बन्धी कार्यक्रमलाई अभियानको रूपमा निरन्तर अघि बढाउँदै झापा, मोरङ र इलाम जिल्लामा रहेका विभिन्न स्कुल तथा क्याम्पसहरूमा ‘बैङ्किङ सचेतना तथा बैङ्कसम्बन्धी जानकारीमूलक अभिमुखीकरण कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । दमकमा केन्द्रीय कार्यालय रहेको कन्काई विकास बैङ्कको झापा, मोरङ र इलाम जिल्लामा हाल १६ वटा शाखा सञ्चालनमा रहेको र यही आर्थिक वर्षभित्र थप ५ स्थानमा नयाँ शाखा विस्तार गर्ने तयारी गरिरहेको बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत रविन्द्र अर्यालले जनाए ।