पाँचथर/ क्यामरुनी क्लब दाफिन्स इलाममा जारी पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको उपाधि नजिक पुगेको छ । 
 
इलामस्थित ठूलो टुँडिखेलमा शनिबार भएको पहिलो सेमिफाइन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध २–० को सहज जित निकाल्दै दाफिन्स प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । १७ औं मिनेटमा अहोण्डा इसाको फ्रिकिकमा टिनाटिनाले हेडरमार्फत् गोल गर्दै दाफिन्सलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको दाफिन्सका लागि ७१ औं मिनेटमा अहोण्डा इसाले गोल गर्दै टिमलाई २–० को जित दिलाए । 
 
खेलको म्यानअफदीम्याच दाफिन्सका टिनाटिना भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको अन्तिम सेमिफाइन खेलमा आज (आइतबार) हिमालयन शेर्पा क्लब र मेची नेत्रालय झापा भिड्ने आयोजक माईभ्याली स्पोर्टिङ क्लबले जनाएको छ ।