उदयपुर/ देशैभरका साइकल यात्रीहरूको जमघटका बीच उदयपुरमा ‘राइड टु कोशीटप्पु २०७५’ शुरु भएको छ ।  दुई दिने साइकल यात्रा सदरमुकाम गाईघाटदेखि कोशीटप्पु सम्मका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण शुक्रबारदेखि शुरु भएको हो ।

साइकल यात्रामा शारीरिक अपाङ्गता भएका, ज्येष्ठ नागरिक र बालबालिका समेतले सहभागिता जनाएका छन् । गाईघाटदेखि नेपालकै ठूलो नदी सप्तकोशी सम्मका बीचमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणसमेत गर्ने आयोजकले जनाएको छ ।

कैलालीका यमलाल रसाइली र काठमाडौंका युवक लामा एउटा मात्र खुट्टा भएका दुई प्यारा साइक्लिष्टसहित डेढसय जना यात्रामा सहभागी छन् । सबैभन्दा ज्येष्ठ उमेरका नेपाली सेनाका पूर्व सेनापती गौरवसमसेर जबरा र सबैभन्दा सानो उमेरका गाईघाटका ८ वर्षीय सुभम श्रेष्ठले पनि साइकल यात्रामा भाग लिएको मूल आयोजक समितिका संयोजक जितु रोइलाले बताए ।

उदयपुरको त्रियुगा, चौदण्डी र बेलका नगरपालिकाका मुख्य पर्यटकीय स्थलहरू र कोशीटप्पु क्षेत्रको विशेष भ्रमण हुनेछ । उदयपुर जिल्ला साइक्लिङ सङ्घ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा भएको कार्यक्रमले जिल्लाको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पु¥याउने आशा लिएको रोइलाले बताए ।

स्वास्थ्य, पर्यावरण र पर्यटन विकासका लागि महत्वपूर्ण सन्देश फैलाउनेछ । स्वच्छ वातावरण र स्वस्थ समाज निर्माणमा समेत ठूलो टेवा पुर्याउने आयोजकले जनाएको छ ।

सदरमुकाममा पर्ने त्रियुगा नगरपालिकादेखि शुरु गरेको यात्रा पहिलोे दिन चौदण्डीगढी नगरपालिकाको बेल्टार हुँदै बेलका नगरपालिकाको सप्तकोशी पुलसम्म पुगेर बास बस्ने र भोलिपल्ट सप्तरीको सप्तकोशी नगरपालिका हुँदै त्रियुगा नगरपालिका भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनीमा समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।