पथरीशनिश्चरे/ मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले सञ्चालन गरेको ‘प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम’ अन्तर्गत १ नम्बर प्रदेशका विपन्न विद्यार्थीका लागि पठन–पाठनको व्यवस्था मिलाउँदै आएको छ ।

विद्यार्थीले कमाएर तिर्ने शर्तमा पढाइमा लगानी गरिदिने ‘प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम’ अन्तर्गतको कोषमा हाल १ करोड १७ लाख ५५ हजार ८ सय १० रुपैयाँ रहेको छ । सो रकम हालसम्म २ सय ५८ जना विद्यार्थीमा लगानी भएको प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भूवनकुमार धिमालले जनाए ।

प्रतिष्ठानमा अध्ययन पूरा गरेको ६ महिनापछिदेखि ६ प्रतिशत सेवाशुल्कसहित मासिक रूपमा रकम फिर्ता गर्नुपर्ने हुन्छ । पीएसएलसीले २ वर्षमा र डिप्लोमाले साढे ३ वर्षमा रकम फिर्ता गरिसक्नु पर्ने प्रावधान छ । ‘पैसा नभएर प्राविधिक शिक्षा पढ्न नपाएकाहरूलाई खर्च जुटाएर पढाइदिने र पछि आफूले कमाएर उपहारका रूपमा फिर्ता गर्ने कार्यक्रम हो यो’ धिमालले भने, ‘फिर्ता गरेको रकमबाट आफूजस्तै विपन्न साथीले पढ्न पाओस् भन्ने भावनासँग कार्यक्रम गाँसिएको छ ।’

०५० सालमा स्थापना भई प्राविधिक शिक्षाका पक्षमा जोड दिँदै आएको प्रतिष्ठानले ०६५ सालदेखि गरिबी निवारण कोषले यसखाले अवधारणाको कार्यक्रम शुरु गरेर ०७० सम्म सञ्चालन गर्यो । गरिबी निवारण कोषले छोडेपछि प्रतिष्ठान आफैले अरुसँगको सहकार्यमा बीउ पूँजी जुटाएर कार्यक्रमलाई निरन्तरता दियो ।

हालसम्म प्रतिष्ठानबाट सीएमए, अनमी, पीसीएल सामान्य चिकित्सा, पीसीएल नर्सिङ, आइएससीएजी बालीविज्ञान, आइएस्सीएजी पशुविज्ञान, डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, प्राविधिक एसएलसी सिभिल इञ्जिनियरिङ र भेट जेटिएका लागि यस प्रकारको उपहार ऋण कार्यक्रम सञ्चालित छ । यी ९ विषयमा ४०–४० जनाको कोटा छ ।

जसमा विद्यार्थीको आर्थिक अवस्था हेरी २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र १ सय प्रतिशतसम्म ऋण उपलब्ध गराइन्छ । प्राविधिक शिक्षा अध्ययनपछि अधिकांश नै रोजगार बनेको प्रतिष्ठानको तथ्याङ्क छ । ‘प्रतिष्ठानको यसखाले कार्यक्रमले विपन्न समुदायका लागि ज्यादै ठूलो गुन लगाएको छ’ –त्यहाँ अनमी पढेर हाल इलाम जनस्वास्थ्य कार्यालयमा जागिरे बन्न सफल साविक पथरी–६ की पूजा गौतमले भनिन् ।

तत्कालीन जिल्ला विकास समिति मोरङले २ पटक गरी १५ लाख कोषमा प्रदान ग¥यो । डा. डेनप्रसाद आचार्यले १ लाख ३६ हजार, भोजपुरका दानबहादुर अधिकारीले ६७ हजार र हाल पथरीशनिश्चरेको हसन्दह स्वास्थ्य चौकीमा कार्यरत प्रतिष्ठानकै विद्यार्थी निर्मला विश्वकर्माले ४० हजार रकम कोषका लागि प्रदान गरे ।

कोषमा झापाको तत्कालीन हल्दीबारी गाविसले १ लाख, तत्कालीन पथरी गाविसले ५० हजार, नेपाल आदिवासी जनजाति महासङ्घ पथरीशनिश्चरे ९ नम्बर वडाले ५० हजार, नेपाल आदिवासी जनजाति महासङ्घ पथरीशनिश्चरेले ४० हजार, तत्कालीन बयरवन गाविसले ३० हजार रुपैयाँ प्रदान ग¥यो । त्यसमा प्रतिष्ठानले थप गरेर कार्यक्रमलाई अघि बढायो ।

गतवर्ष प्रतिष्ठानले २५ लाख छुट्याएको र त्यसमा विभिन्न पालिकाहरूले सहयोग गरे । उर्लाबारी, सुन्दरहरैंचा र बेलबारी नगरपालिकाले ५–५ लाख, मिक्लाजुङ गाउँपालिकाले २ लाख तथा झापाको अर्जुनधारा नगरपालिकाले १ लाख, कमल गाउँपालिकाले ४ लाख प्रदान गरेको थियो । यसवर्ष पथरीशनिश्चरे नगरपालिकाले ५ लाख प्रदान गर्ने सम्झौता भएको छ ।

नगरका विपन्न विद्यार्थीहरूलाई कमाएर तिर्ने गरी खडा भएको मदन भण्डारी स्मृति प्रतिष्ठानको कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको नगरप्रमुख दिलिपकुमार राईले जनाए । नगरप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भूवनकुमार धिमालबीच सहयोगको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जसअन्तर्गत पथरीशनिश्चरे नगरपालिकाका १७ जना नयाँ गरी हालसम्म ४३ जनाले प्रतिष्ठानमा प्राविधिक शिक्षा अध्ययन गरेका छन् । झापाको गौरादह, दमक, अर्जुनधारा, उदयपुरको बेलका नगरपालिकाले पनि सहयोग गर्ने वचन दिएका छन् ।

१ नम्बर प्रदेशमा पनि विशेषगरी मोरङ, झापा र सुनसरीसहित पहाडी जिल्लाका विद्यार्थीका लागि केन्द्रित प्राविधिक शिक्षामा ऋण उपहार कार्यक्रम सञ्चालनमा भने प्रत्येक वर्ष खर्च जुटाउने चटारो हुन्छ । सो कार्यक्रमलाई सहज र दिगो रूपमा अघि बढाउन प्रतिष्ठान अध्यक्ष गुरुप्रसाद बरालले वर्षेनी १ नम्बर प्रदेशका पालिकाहरूलाई सहयोगको आह्वान गरेका छन् ।

‘पालिकाहरूले यथाशक्य रकम कोषमा जम्मा गरिदिएर आर्थिक कारणले रोजगारमूलक प्राविधिक शिक्षा पढ्नमा समस्या भएकालाई सहजता प्रदान गरिदिन आह्वान गर्दछु’ – उनले भने ।