मानव स्वास्थ्यका लागि अस्पतालजन्य फोहोर हानीकारक मानिन्छ । कुनै पनि अस्पतालले त्यस अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नु उसको दायित्व हो ।

मानवबस्तीमा प्रतिकुल असर पर्ने गरी फोहोर फ्याँक्नु अस्पतालको गैरजिम्मेवारी हो । दमक—२ स्थित आम्दा अस्पतालले यस्तै गैरजिम्मेवारपुर्ण काम गरेको पाइएको छ ।

अस्पतालबाट निस्कने फोहोरको उचित व्यवस्थापन नगरेर वातावरण प्रदुषित बनेको स्थानीयले गुनासो गरेका छन् । अस्पताल आफै स्वास्थ्यप्रति गैरजिम्मेवार हुनु किमार्थ राम्रो होइन । सिरिञ्जलगायत प्लास्टिक, कपडा तथा धातुजन्य फोहोर मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक बस्तु हुन् ।

यसले सङ्क्रमण फैलाउने मात्र होइन कि उचित व्यवस्थापन अभावमा वातावरण प्रदुषित हुने गरेको छ । यस्ता हानिकारक वस्तुको उचित व्यवस्थापन अस्पताल आफैले गर्नु पर्दछ ।

आम्दा अस्पतालले फोहोर थुपार्ने, गाड्ने र जलाउने स्थान बस्तीनजिक गर्दै आएको छ । अस्पतालबाट निस्कने कतिपय फोहोरलाई मेसिनले टुक्र्याएर जलाउनु पर्ने हुँदा उक्त फोहोरलाई टुक्र्याउँदा दुर्गन्धले आसपासका स्थानीयहरु प्रभावित भएका छन् ।

फोहोर जलाउँदा निस्कने दुर्गन्ध र धुवाँ स्थानीयको घर–घरमा पुग्दा उनीहरुको स्वास्थ्यमा नराम्रो असर पुगेको छ । यसप्रति अस्पताल गैरजिम्मेवार बन्नु हुँदैन ।

अस्पतालको फोहोरले रुघा–खोकीमात्र होइन, फोहोरको गन्धका कारण स्वास्थ्यमा गम्भीर समस्या निम्तिन्छ ।

अस्पतालजन्य फोहोर खुल्ला ठाउँमा राख्दा वा जलाउँदा त्यसबाट निस्कने धुवाँ हावाको माध्यमबाट सङ्क्रमण फैलने चिकित्सकहरुले बताउँदै आएका छन् ।

फोहोर र प्रदुषणकै कारण लामखुट्टे, झिँगाको सङ्क्रमणसमेत हुने र झाडापखाला, आउँ, टाइफाइडजस्ता रोगको शिकार हुने सम्भावना हुन्छ ।

यसर्थ कुनै पनि अस्पतालले त्यहाँबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्नु पर्दछ । अस्पतालले स्वास्थ्यजस्तो क’रामा हेल्चेक्र्याइँ गर्नु राम्रो मानिदैन ।

स्वास्थ्य उपचार गर्ने अस्पताल नै मानव स्वास्थ्यप्रति गम्भीर नहुने हो भने उक्त अस्पतालको सेवामा नागरिकले कसरी विश्वास गर्लान् ।

आफुले उत्पादन गरेको फोहोर सही स्थानमा व्यवस्थापन नगर्ने अस्पतालको उपचार पनि प्रभावकारी मान्न सकिन्न ।

आम्दाजस्तो नाम चलेको अस्पतालले नागरिकको स्वास्थ्यप्रति खेलवाड गनर्’ हुँदैन । फोहोर व्यवस्थापनबारे स्थानीयले प्रश्न उठाइसकेकाले त्यसको तत्काल उचित व्यवस्थापन गरी नागरिकप्रति जिम्मेवार रहेको भन्ने सन्देश दिन आम्दा अस्पतालले ढिलो गर्नु  हुँदैन ।