ताप्लेजुङ/गाईले बाली खाएको निहुँमा विवाद हुँदा छिमेकीको कुटपिटबाट ताप्लेजुङमा एकजनाको ज्यान गएको छ । शनिवार जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवामा छिमेकीको कुटाईबाट एक जनाको मृत्यु भएको हो ।

शनिबार राति कुटपिटबाट गम्भिर घाइते ३५ वर्षिय प्रताप लिम्बुको उपचारका लागि सदरमुकामतर्फ ल्याउने क्रममा बाटैमा मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संजयसिंह थापाका अनुसार गाउँका २–३ जनाको समुहले मदिरा सेवन गरि लिम्बुलाई कुटपिट गरेका थिए ।

उपचारका लागि साँवाकै लामाचौतारा भन्ने ठाउँमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । लिम्बुको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइदै गरिएको र घटनामा संलग्नको खोजी भइरहेको थापाले बताए ।

‘उक्त स्थानमा फोन सम्पर्क र प्रहरीकै सेटमा पनि सम्पर्क हुन नसक्दा घटनाको बारेमा विस्तृत जानकारी आइसकेको छैन,’ उनले भने, ‘प्रहरी टोली फर्किसकेपछि थप विवरण थाहा हुन्छ ।’

नेपाल टेलिकमको स्काई फोनमा समस्या आएको र साँवामा स्काई मात्रै टिप्ने भएकाले घटनाबारे ढिलो जानकारी आएको हो ।