काठमाडौं/ दशैँ घटस्थापनाको अवसर पारेर रिलिज भएको चलचित्र ‘छक्का पञ्जा –३’ ले आक्रामक व्यापार गरिरहेको छ ।

नेपालका सबै हलमा सोलो रिलिज पाएको ‘छक्का पञ्जा –३’ हेर्न देश भरिका हलहरुमा दर्शकको ओहिरो लागेको छ ।

चलचित्र रिलिजअघि नै बुकिङ खुला भएका कारण दर्शकलाई चलचित्र हेर्नका लागि पनि निकै सहज भएको छ ।

‘हामीले चलचित्रमा धेरै मेहेनत गरेका छौँ ।

पहिलेभन्दा फरक देखाउने प्रयास गरेका छौँ र दर्शकले पनि हामीले राम्रो गर्न सक्छौँ भनेर विश्वास गर्नुभयो ।

यो नै हाम्रा लागि महत्वपूर्ण कुरा हो’, चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भनिन् ।

‘हामीलाई पहिलेका चलचित्रहरुमा शिक्षा दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर हामीले छक्का पञ्जा ३ बाट मनोरञ्जनसँगै शिक्षा पनि दिने प्रयास गरेका हौँ र आज दर्शकले मन पराउनु भएको छ’, चलचित्रका निर्माता एवम् कलाकार दीपकराज गिरीले  भने  ।