इनरुवा/ सुनसरीको इनरुवासहित वराहक्षेत्र नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीका लागि विपद् न्यूनीकरण तथा व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ ।

फरवार्ड नेपाल क्षेत्रीय कार्यालय विराटनगरले सहभागीका लागि इनरुवामा दुई दिने विपद् न्यूनीकरण तथा व्यवस्थापन क्षमता विकास तालिम दिलाएको हो । सहभागीलाई कर्णबहादुर नेपालीले प्रशिक्षण दिएका थिए । कार्यक्रमले विपद् न्यूनीकरण र व्यवस्थापन सम्बन्धी ७ बुँदे प्रतिवद्धता–पत्र समेत जारी गरेको कार्यक्रम संयोजक सुरज खनालले जानकारी दिए ।

इनरुवा र वराहक्षेत्र नगरपालिकामा लागू हुने गरी जारी प्रतिवद्धता–पत्रमा व्यवहारमुखी कार्यान्वयन पक्षलाई मूर्त रूप दिने, स्थानीय तहमा विकास सञ्चालन प्रकृयामा सहजीकरण गर्ने, दीगो संयन्त्र विकास तथा परिचालन, खबरदारी, समन्वयात्मक सहयोग र स्रोतसाधनको उचित सदुपयोगका साथै सहज पहुँचका लागि सर्व सुलभतासहितको सूचना संयन्त्रको विकास गर्नेजस्ता बुँदा समावेश छन् ।