वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाले आयोजना गरेको कविता गोष्ठीमा कविको अपमान भएको विषयमा स्थानीय साहित्यिक संस्थाले विरोध गरेका छन् ।

संविधान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालको संविधान’ विषयक कविता गोष्ठीमा कविलाई अपमान गरेको भन्दै स्थानीय स्वर्णीम साहित्य समाज, पूर्वेली साहित्यिक मञ्च, सप्तकोशी साहित्य समाजलगायतका प्रतिनिधिले विरोध गरे ।

कार्यक्रमको सहजीकरण गरिरहेका नगरपालिकाका कर्मचारी कपिल दाहालले कवि प्रकाश दिप्सालीको रचना हेरेर, ‘इतिहास नै लेख्नु भएको रहेछ होस् नभन्नू’ भन्दै फिर्ता गरिदिएका थिए । ‘यो त सरासर उपेक्षा हो ।’ कवि दिप्सालीले भने ।

बिहान ८ बजेदेखि शुरु गर्ने भनिएको कविता गोष्ठी र परिसंवाद ११ बजे पछिमात्रै शुरु भएको थियो । कविता वाचन गर्नका लागि आयोजकले नाम टिपेपछि कवि दिप्सालीले पनि आफ्नो नाम दर्ता गरेका थिए ।

कार्यक्रम सकिन लाग्दा पनि कवि दिप्सालीको नाम नआएपछि दर्शक र अन्य कविले आयोजकलाई अनुरोध गरेका थिए । तर कार्यक्रम सञ्चालकले दिप्सालीको कविता हेरेपछि त्यसलाई ‘इतिहास’ उपेक्षा गरेका थिए ।

कार्यक्रम समापनका लागि सभाध्यक्ष कमला मगर बोल्दै गर्दा वराहक्षेत्र नगरपालिका–३ का वडाध्यक्ष रुद्र दहालले कविता बाचन गर्न दिनु पर्छ भनेपछि कवि दिप्सालीले कविता सुनाएका थिए ।

कार्यक्रमको सञ्चालन र व्यवस्थापनबारे ज्ञान नभएका कर्मचारीका कारण एकजना उर्जाशील कविको मात्रै नभएर समग्र साहित्यप्रेमी र समाजकै बेइज्जत भएको पूर्वेली साहित्यिक मञ्चका महासचिव कवि नगेन्द्र बजगाईंले बताए ।