बिर्तामोड/ झापाको सुरुङ्गामा भदौ ३० देखि असोज ६ गतेसम्म हुने भनिएको टिभिएस प्रथम अन्तर प्रदेश स्तरीय खुल्ला नकआउट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता असोज ५ देखि १२ गतेसम्म हुने भएको छ ।

आयोजक संस्थाले विहीबार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी मौसम खराबीका कारण तोकिएको समयमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको जनाएको हो । कनकाई सचेत युवा क्लब कनकाई–४ र ह्वाइट वास क्रिकेट क्लब कनकाई–३ को संयुक्त आयोजना प्रतियोगिता हुन लागेको हो ।

खेल मैदानको कार्य सम्पन्न भएकोले अब पानी परे पनि प्रतियोगिता नरोकिने मिडिया संयोजक लीलाराज झापालीले बताए । प्रतियोगितामा ह्वाइट वास क्रिकेट क्लब, लाली गुराँस क्रिकेट एकाडमी, युनाइटेड क्रिकेट एकाडमी, वाईआरसीसी, मकवानपुर क्रिकेट एकाडमी, युथ क्रिकेट एकाडमी, उदयपुर क्रिकेट एकाडमी र खुकुरी क्रिकेट एकाडमीको सहभागीता रहने प्रतियोगिताका संयोजक प्रदीप गजमेरले बताए ।

प्रतियोगितामा अनुमानित ६ लाख रुपैयाँ खर्च हुने र कनकाई नगरपालिका र अन्य स्थानीय संघ/संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न गर्न लागिएको कनकाई सचेत युवा क्लबका अध्यक्ष निशेस ओलीले बताए । प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार र दोस्रो हुनेलाई ३१ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो पुरस्कार टिभिएस र दोस्रो पुरस्कार अम्विका गौरी ओली प्रतिष्ठानले उपलब्ध गराउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याचलाई जनही २ हजार दिइने जनाइएको छ ।

त्यस्तै प्रतियोगिताभर ब्याडमेन, वीकेटकीपर, बेष्ट बालर र उत्कृष्ट खेलाडीलाई प्रतियोगिता समापनका दिन जनही ५ हजार दिइने जनाइएको छ ।