पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाले नगरका क्षयरोगीलाई पौष्टिक खानेकुरा प्रदान गर्ने अभियान शुरु गरेको छ । स्वास्थ्य चौकी पथरीमा सोमबार आयोजित कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, स्वास्थ्य संयोजक मुरारी आचार्यका साथै वडाध्यक्षहरुले ७ जना विरामीलाई फलफूल तथा दूध वितरण गरेर यस्तो अभियानको थालनी गरेका छन् । वडा नम्वर १ की सरस्वती राई, धनकुमार मगर, वडा ७ का कर्णबहादुर खड्का, वडा नं. १० का रमेश राई, टीकामाया मगर, विकास राईलाई स्वास्थ्यकर्मीले औषधि खुवाएपछि फलफूल र दूध वितरण भएको हो । यो वर्षमा आउने प्रारम्भिक बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा २ महिनासम्म उपचारका क्रममा दैनिक औषधि खुवाउँदा फलफूलसमेत निरन्तर वितरण गरिने स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । क्षयरोगीका विरामी औसत रुपमा विपन्न परिवारका भएकाले पनि पौष्टिक खानेकुरा जुटाउन समस्या भएकाले पौष्टिक आहार प्रदान गरिएको हो । पौष्टिक खानेकुरा प्रदान गरिने प्रारम्भिक बिरामीको सङ्ख्या हाल २० रहेको छ । लगातार औषधि खाने ४७ सहित नगरमा कुल क्षयरोगीको सङ्ख्या ६७ रहेको छ । स्वास्थ्य सम्बन्धी केही नविनतम् कार्यक्रमले नगरपालिकाले प्रदेशमा स्वास्थ्य क्षेत्रमा फरक चिनारी बनाएको छ । जसमा ८० वर्षमाथिकाको घरघरमा नियमित स्वास्थ्य जाँच, ७० वर्षमाथिकालाई १ नम्बर प्रदेशभरी उपचारमा जाँदा एकतर्फी एम्बुलेन्स भाडा प्रदान गर्ने नगरको स्वास्थ्य कार्यक्रमले नगरवासीलाई राहत प्रदान गरेको छ । यसका साथसाथै क्यान्सर, मृगौला, मुटु, बोनम्यारो र स्पाइनलकड इञ्जुरी भएका बिरामीका लागि जीवनमा एकपटक १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालनमा छ ।