पानवारी/ विपी अध्ययन प्रतिष्ठान नेपाल सुनसरीले शनिबार धरानमा ‘आजको सन्दर्भमा विपीको राष्ट्र , राष्ट्रीयता , लोकतन्त्र र समाजवाद’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस प्रदेश नं एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले विपीको राष्ट्र, राष्ट्रीयता, लोकतन्त्र र समाजवादबारे टिप्पणी गरेका थिए । उनले विपिवादलाई कांग्रेसका नेता कार्यकर्ताले बिर्सदै गएकोले यसको साख खस्कदै गएको भन्दै विपी बिचारको पथमा हिडे कांग्रेस पुनः ठूलो दल हुने विश्वास व्यक्त गरे ।

विपी अध्ययन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष धर्मेन्द्र नेम्वाङले विपिको सिद्धान्त आज मात्र नभएर दुर भविष्यसम्म सान्दर्भिक रहने बताउँदै कांग्रेसले विपीले देखाएको बाटोमा नहिड्दा लोकतन्त्र समेत धरापमा परेको बताए । प्रतिष्ठानकै प्रदेश नं एकका अध्यक्ष नन्द नेम्बाङ, कांग्रेसका पुराना नेता गिरीराज आचार्य, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावोहाङले समेत आफ्नो बिचार व्यक्त गरेका थिए । बिचार गोष्ठीमा प्रतिष्ठानका जिल्ला अध्यक्ष विकास आचार्यले वर्तमानमा विपीको आदर्श किताबमा सिमित भएकाले नै कांग्रेस सानो दलमा खुम्चिनु परेको भन्दै जब विपीका बिचारहरू कार्यकर्ता माझ पुर्याउनु पर्ने आवश्यकता रहेको बताए ।

विपी अध्ययन प्रतिष्ठानको प्रदेश स्तरीय बैठकबाट प्रतिष्ठानलाई स्थानीय तहसम्म विस्तार गर्ने, प्रदेश राजधानीमा तत्काल कार्यालय खोल्ने तथा कांग्रेसका तरूण विद्यार्थीहरूलाई विपि र विपीका विचारहरू बारे प्रशिक्षण दिन प्रशिक्षकहरूको टोली तयार गर्ने निर्णय गरेको थियो ।