[caption id="attachment_47524" align="alignnone" width="1600"] google[/caption]

जलालावाद/अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरूले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरूबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ । यस वर्षको सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको पूर्वी क्षेत्रमा भएको त्यस विष्फोटमा अरु १ सय ६५ जना घाइते भएको प्रान्तीय सरकारको प्रवक्ता अताउल्लाह खोग्यानीले बताउनुभयो ।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ । नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ । उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउँदै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरिरहेको अवस्थामा भएको थियो । हमलाकारीले प्रदर्शनकारीको बीचमा गएर आफैलाई बमले उडाएको बताइएको छ ।

मृत्यु भएका र घाइतेहरूलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालहरूमा लगेका थिए । जनवरीमा भएको यस्तै एक विभत्स घटनामा अफगानिस्तानको राजधानी काबुलमा विष्फोटक पदार्थले भरिएको एम्बुलेन्स विष्फोट गराउँदा १०० भन्दा बढी सर्वसाधारण मारिएका थिए । त्यो बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।

(रासस÷एएफपी)