पाँचथर ।  हिलिहाङ गाउँपालिका–२, अमरपुर घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका नन्दिकेशर प्रसाईंले आफ्नी दिवांगत श्रीमति मनु दुलाल (प्रसाईं) को नाममा दुई लाख रुपैंयाँको अक्षयकोष स्थापना गरेका छन् ।

मंगलबार फिदिममा आयोजित एक कार्यक्रममा उक्त अक्षयकोषको ब्याजबाट आगामी बर्षदेखि अपाङ्ग, असाहय, अनाथ र द्वन्दपीडितलाई सहयोग प्रदान गरिने स्वर्गिय मनुका श्रीमान नन्दिकेशरले बताए । कार्यक्रममा नन्दिकेशले भने– ‘मनुको भौतिक शरीर यो धरतीमा नरहे पनि उनको नामबाट गरीब, असाहयलाई थोरै भए पनि राहत प्राप्त होस भन्ने उदेस्यले अक्षयकोष स्थापना गरेको हुँ, मलाई लाग्छ यति भए स्वर्गमा उसको आत्मालाई पनि शान्ति मिल्नेछ ।’

प्रसाईंको परिवार सन् २०१४ मा डाइभरसिटि भिजामार्फत् अमेरिका पुगेको थियो । मनुको २०७३ साउन २९ गते अमेरिका स्थित न्यूह्यामसायर शहरको इलिओट अस्पतालमा निधन भएको थियो ।  मनुको जन्म २०७३ मंसीर १९ गते फिदिम नगरपालिका–१३, लुङरुपा स्थित टिम्बुरेमा भएको थियो ।

जनसेवा समाज पाँचरले आयोजना गरेको उक्त कार्यक्रममा मनुको नाममा हिलिहाङ गाउँपालिका–७, एकचेपाकी द्धन्दपीडित अनुपा राईलाई १५ हजार रुपैंयाँ र मनुको गाउँ फिदिम नगरपालिका–१३, लुङरुपा टिम्बुरेकी गरीब जेहेन्दार विद्यार्थी स्मिता नेम्बाङलाई १३ हजार रुपैंयाँ सहयोग समेत प्रदान गरिएको छ । उक्त सहयोग रकम कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाले हस्तान्तरण गरेका थिए । एकै परिवारको पाँच जनाको ज्यान जाने गरी भएको चर्चित टिम्बुरे हत्याकाण्डमा मनु र उनकी दिदी ज्ञानु मात्र बाँच्न सफल भएका थिए ।

के हो टिम्बुरे हत्याकाण्ड ? २०५० सालमा पाँचथरको फिदिम नगरपालिका–१३, साबिक लुङरुपा–९ टिम्बुरेमा एकै परिवारका पाँच जनाको विभत्स हत्या भएको थियो । सो हत्या काण्डमा मनुका बाबु कुवेर दुलाल, आमा सरस्वती, भाईहरु उमेश र उद्धव त्यस्तै वहिनी कृष्णा दुलाल गरी पाँच जनाको हत्या भएको थियो । त्यतिबेला मनु नांगीन स्थित पिपलबोटे उच्च मा.वि.मा पढ्थीन । उनकी दिदी ज्ञानु भने मावलीघर इटहरी गएकी थिइन् ।

त्यसैले उनीहरु बाँच्न सफल भएका थिए । लामो समयसम्म हत्याकाण्डका दोषी पत्ता नलागेपछि दुलाल परिवारका आफन्तले अनुसन्धान टोलीको साथमा कुकुर ल्याएर अनुसन्धान गरेका थिए । अनुसन्धानमा खटाइएको कुकुरले कुबेरका दाजु नाता पर्ने छिमेकी ओमनाथ दुलाल सहित ८ जनालाई समातेको थियो ।

त्यसपछि पक्राउ परेका ८ मध्ये ७ जनाले आफूहरुलाई ओमनाथले आर्थिक प्रलोभनमा पारेर हत्या गराउँन लगाएको बयान थिएका थिए भने ओमनाथले पनि पुरानो इगोका कारण हत्या गरेको स्वीकारेका थिए । हत्या गराएको स्वीकारेपछि अदालतले ८ जनालाई जनही २० वर्षको कैद सजाय सुनाएको थियो । उनीहरु ३ वर्ष अघि कैद भुक्तान गरी जेलबाट छुटेका छन् । उक्त हत्याकाण्ड टिम्बुरे हत्याकाण्डको नामले चर्चित छ ।