पाँचथर । गत वर्षको २५ माघदेखि २ बैशाखसम्म सञ्चालन भएको दोस्रो वाईवाई पाँचथर गोल्डकपमा ७५ हजार ५१० रुपैंयाँ घाटा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न भएको झण्डै चार महिनापछि सोमबार फिदिममा पत्रकार सम्मेलन गरी आयोजक पाँचथर क्लवले प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो । प्रगितोगितामा मूख्य प्रायोजक वाईवाई, अन्य विभिन्न दाताहरु र टिकट बिक्रीबाट २२ लाख २३ हजार ८७० रुपैंयाँ संकलन भएको आयोजकले जनाएको छ । तर प्रतियोगिता सम्पन्न गर्न २२ लाख ९९ हजार ३८० रुपैंयाँ खर्च भएको अध्यक्ष अनुराग केप्छाकि मगरले बताए ।

सो अवशरमा आय–व्यय सार्वजनीकिकरण समारोहका प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले जिल्लाको खेलकुदको बिकासको लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

उनले आगामी दिनमा पनि पाँचथर गोल्डकप फुटवल प्रतियोगितालाई निरन्तर सहयोग गर्ने बताए । सो अवशरमा क्लवले फिदिम नगरपालिका–४, का मृगौला पीडित शान्ति लाओती पङहाङगोको परिवारलाई एक लाख २० हजार ७१६ रुपैंयाँ सहयोग गरेको छ । शान्तिको उपचारमा उनको परिवारले घरजग्गा बिक्री गर्नु परेको थियो । पाँचथर क्लवले संकलन गरेको उक्त रकम शान्तिका श्रीमान दिपेश पङहाङगोलाई हस्तान्तरण गरिएको थियो ।