जिरोपोइन्ट । धरान बास्केटबल सङ्घको आयोजना र जिल्ला बास्केटबल सङ्घको सहयोगमा आयोजना गरिएको दोस्रो समर बास्केटबल प्रशिक्षण क्याम्प शनिबार सकिएको छ । समर क्याम्पमा सहभागी विद्यार्थीमध्ये हिमाल कलेक्सन उत्कृष्ट महिला र पुरुष खेलाडी पर्वत स्कुलमा कक्षा–९ मा अध्यनरत सितल तामाङ र जेम स्कुलमा कक्षा–९ मा अध्यनरत निसान्त तामाङ भए । उनीहरूलाई हिमाल कलेक्सनले एक–एक थान जुत्ता प्रदान गरेको थियो । हाम्रो कलेक्सन उदयीमान खेलाडी सिओन स्कुलका कक्षा–४ मा अध्यनरत सायसमनि राई घोषित भए । अनुशासित खेलाडीमा विष्णु स्कुलका कक्षा–८ मा अध्ययनरत सोफिया गुरुङ घोषित भइन् । उनीहरूले एक–एक थान बास्केटबल र ब्याग प्राप्त गरे । समर क्याम्प सफल बनाउनका लागि विशेष योगदान दिने प्रशिक्षक तथा खेलाडी चिरञ्जीवि गिरीलाई बेस्ट ट्रेनरको पुरस्कार प्रदान गरिएको थियो । बेस्ट एफोर्ट पुरस्कार पूर्वाञ्चल बास्केटबल टिमका कप्तान हेमन्त राईले प्राप्त गरे । प्रेरणादायी खेलाडीका रूपमा पूर्वाञ्चल महिला बास्केटबलकी टिम क्याप्टेन आशा राईलाई पुरस्कृत गरियो । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समर क्याम्पमा सहभागी सम्पूर्ण विद्यार्थीलाई कार्यक्रमका सभाध्यक्ष धरान बास्केटबल सङ्घका अध्यक्ष सुरज लामा, बास्केटबल सङ्घका सल्लाहकार खगेन्द्र रिजाल, धरान–१८ का वडाध्यक्ष प्रवीण राई, धरान–१० का वडाध्यक्ष श्री सुब्वा, डिपो क्याम्पसका क्याम्पस प्रमुख राजकुमार राई, प्रमुख अतिथि सभामुख भण्डारीलगायतले प्रमाण–पत्र वितरण गरेका थिए । समर क्याम्पका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई थिए । सहयोगी प्रशिक्षक हेमन्त राई, आशा राई, चिरञ्जीवि गिरी, उज्ज्वल राई, दिवस राई, विवेक श्रेष्ठ, विराज लिम्बू, युगल राई र रोशन राई रहेका थिए । साउन २ गतेदेखि धरान–१८ स्थित डिपो क्याम्पसको बास्केटबल कोर्टमा भएको क्याम्पमा धरान भरिका १८ विद्यालयका ९५ विद्यार्थीको सहभागिता थियो ।