नगर व्यवस्थापनसँगै नगरको फोहोर व्यवस्थापन देशका ठूला शहरहरुका लागि चुनौतीको विषय बन्दै गएको छ । स्थानीय तह निर्वाचनपछि यसमा सुधार हुने आशा र विश्वास गरिए पनि निर्वाचन सम्पन्न भएको एक वर्ष बित्दा पनि पूर्वी नेपालका अधिकांश शहरहरु झन्–झन् फोहोर र अव्यवस्थित छन् । नगर भन्ने बित्तिकै शिक्षित र सभ्य नागरिकहरुको बसोबास भएको स्वच्छ, सफा र व्यवस्थित स्थान भन्ने दृश्य अाँखा आगाडि आउँछ । खाल्डाखुल्डी परेको जीर्ण सडक, खुल्ला नाला, अव्यवस्थित फुटपाथ, सडकमा खुल्ला चौपाया छाड्नु, ध्वनि, धुवा र धुलोको प्रदूषण देशका प्रमुख नगरहरुको मुख्य विषेशता नै बनेको छ । त्योसँगै शहरमा उत्पादित फोहोर व्यवस्थापन त नगरपालिका देखि महानगरपालिकाको हालतसम्म उस्तै छ । स्थानीय तह निर्वाचनपछि पनि नगरहरुको मुहार झन् दयनीय देखिएको छ । निर्वाचनका बेला मेगा सिटी र स्मार्ट सिटीको सपना देखाउने नेताहरु अहिले नगरको प्रमुख बनेका छन् । तर नगरको पहिलो प्राथमिकतामा पर्ने नगरको सरसफाइ र फोहोरको व्यवस्थापन भने उस्तै छ । एक वर्षमा जनप्रतिनिधिहरुले फोहोर व्यवस्थापनसम्म सकेनन् । इटहरी उपमहानगरपालिकाको प्रमुख समस्या भनेको अव्यवस्थित शहर र सरसफाइप्रति जनप्रतिनिधिको ध्यान जान नसक्नु नै हो । विराटनगर महानगरपालिका वर्षामा हिलाम्य र हिउँदमा धुमाम्य हुने समस्याबाट ग्रसित छ । नगरका कुनै स्थानमा सरसफाइ छैन ।

यस्तै समस्या छ धरान उपमहानगरपालिकामा पनि । सफा शहर धरानमा उत्पादन भएको फोहोर चारकोशे झाडीमा फालिँदै आएको छ । स्थानीय तह पुनः संरचनापछि पहिलेका अधिकांश गाउँहरु अहिले नगरमा गाभिएका छन् । नगरमा बढेको जनसंख्या, बस्ती र सवारीको चापस“गै नगरका सडक र गल्लीहरुको आकार सानो मात्रै भएको छैन, नगरलाई झनै फोहोर र कुरुप बनाइएको छ । यतातिर जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेको छैन किन ? फोहोर अहिले सबै नगरको टाउको दुखाइ बने पनि व्यवस्थापनको पक्ष भने सबैको फितलो देखिन्छ । शहरलाई स्मार्ट सिटी बनाउने नारा लिएर नगरको कार्यभार सम्हालेका जनप्रतिनिधिलाई सडकको फोहोर व्यवस्थापन गर्न मात्र पनि सकस परेको छ । गुट्खा, चकलेट, बिस्कुटका खोल र फलफूलका बोक्रा आदि सङ्कलनका लागि डस्टबिनहरु नहुँदा पैदलयात्री तथा स्थानीय व्यापारीले जथाभावी फोहर फाल्ने गरेका छन् । डम्पिङ साइट बनाउन नसक्दा बजार क्षेत्रबाट निस्कने फोहरलाई जथाभावी फाल्दै आएको पाइन्छ । यस विषयमा किन मौन बस्दै आएको छ प्रमुख शहरका प्रमुखहरु ? फोहोरमैला व्यवस्थापन, खानेपानी, विजुली लगायतका समस्याहरु गाउँमा भन्दा शहरमा विकराल बन्न थालेको छ । डम्पिङ साइड अभावमा अव्यवस्थित रूपमा फोहोर फ्याँक्दा चारकोशे क्षेत्र दुर्गन्धित भएको हो । ‘सडकमा यात्रा गर्दा ह्वास्स फोहोर गन्हाउँछ, धरान र इटहरीको बीचमा पर्ने यो भागमा मरेका जनावरदेखि दिसासम्म फाल्दा वातावरण प्रदूषित छ । धरानमा पनि डम्पिङ साइड अभावले फोहोर सेउती नजिकैको वनक्षेत्रमा फालिँदै आएको छ । बजारमा फोहोरमैला बढ्दै गए पनि पूर्वका शहरहरुले यसतर्फ खासै ध्यान दिएको पाइँदैन । खोजी कार्य जारी छ, फोहोर व्यवस्थापनमा समस्या छ भन्ने मात्र गर्छन् नगरका प्रमुखहरु । खोल्साखाल्सी र वनक्षेत्रमा फालिने यो फोहोरले अप्रत्यक्ष रूपमा मानवीय क्षति पु¥याइरहेको त छैन ? सरकारले कुनै भौतिक संरचनाको व्यवस्थापन नगरी गाउँहरुलाई एकै चोटी शहरी क्षेत्रमा प्रवेश त गराए तर आफैमा अव्यवस्थित नगरहरुलाई थप गाविसहरुलाई समेट्दा विविध समस्या थपिँदैछ । फोहोर व्यवस्थापन गर्न नसक्ने हो भने फोहोर उत्पादन थोरै हुने विकल्प खोजी गर्नु आजको आवश्यकता हो । कुनै पनि शहर स्वच्छ सफा भएमा त्यो शहरको सुन्दरताले त्यहाँ बसोबास गर्ने शहरबासीहरुको सुन्दरतालाई नै झल्काउने प्रयास गरेको हुन्छ । नगरहरुको प्रमुख काम कर्तव्यमध्ये शहर सफा र सुन्दर राख्ने महत्वपूर्ण कार्य पनि हो । अस्पताल तथा स्वास्थ्य संस्थाजन्य फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्न सरकारले ‘केन्द्रीय फोहोरमैला व्यवस्थापन प्लान्ट’ सञ्चालन गर्ने अवधारणा २०७० सालमा नै ल्याएको थियो  । तर यसको कार्यान्वयन अझैसम्म पनि भएको पाइँदैन । अस्पताल एवम् स्वास्थ्य संस्थाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सङ्क्रमण रोगहरु फैलाइरहेको भन्दै सरकारले साझा फोहोरमैला व्यवस्थापन, निर्मलीकरण केन्द्र निर्माण गर्ने अवधारणा अगाडि सारेको थियो । अव्यवस्थित शहरीकरणमा फोहोरमैला तथा ढलको उचित व्यवस्थापन ठूलो समस्या रहने गरेको छ । फोहोर मैला व्यवस्थापनमा सरोकारवाला निकायको सक्रियता आवश्यक देखिन्छ । कुहिने तथा नकुहिने र अन्य वर्गीकरण गरी फोहोरमैला व्यवस्थापन गर्नु चुनौतीपूर्ण तर अत्यावश्यक रहेको देखिन्छ । राज्यको कमजोर नीति र सरोकारवाला निकायका अधिकारीहरुको इच्छाशक्तिको अभावले गर्दा फोहोरको समुचित व्यवस्थापन विकराल बन्दै गएको छ । शहरको बाटोमा कागज, प्लाष्टिक, टिनदेखि खानेकुराका लागि छुट्टाछुट्टै कन्टेनर राखिएका हुन्छन् । विदेशमा आफै फोहोर लिएर त्यस्ता कन्टेनरलाई व्यवस्थित गर्न सकिएको छैन । जथाभावी फोहोर फाल्नेहरुलाई अभियान चलाएर कारबाहीसम्म गर्ने हिम्मत नगरहरुले गरे फोहोर व्यवस्थापन केहीहदसम्म सुध्रने पक्का छ ।