सिराहा । यहाँस्थित कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवानले बिलबिना भुक्तानी गर्न नमानेको भन्दै आफ्नै कर्मचारीलाई हातपात गरेका छन् । नगरपालिकाले खरिद गरेको जेसिबी गाडीको भ्याट बिल बिनै भुक्तानीको कागजपत्र तयार पार्नका लागि दिएको निर्देशन अवज्ञा गरेपछि जिन्सी शाखा तथा प्रशासन प्रमुख बलिराम यादवमाथि बिहीबार हातपात गरेका हुन् । चार दिनअघि जेसिबी बिक्रेता कम्पनी काठमाडौंले मेसिनको भुक्तानी मागेको थियो । सोही भुक्तानीका लागि नगर प्रमुख पासवानले भ्याट बिलबिनै कागज–पत्र मिलाउन दबाव दिएपछि आफूले त्यो काम गर्न नसकिने भनेपछि आक्रमण गरेको यादवले बताए । उनका अनुसार प्रमुख पासवानले सामान आइसकेकाले डिलरले भ्याट बिल पठाइहाल्छु भनेको अवस्थामा निकासी अगाडि बढाउन दबाव दिँदा विवाद बढेपछि आफूमाथि आक्रमण भएको हो । उनले भने, ‘प्रशासकीय प्रमुख रमेशकुमार दास र नगर प्रमुख पासवानसँगै आएर केही हुँदैन मिलाउनुस् भनेर दबाव दिए । मैले नमानेपछि नगर प्रमुखले हातपात गर्न थालिहाल्नुभयो ।’ कुटपिट भएपछि यादव न्यायको लागि जिल्ला प्रशासन कार्यालय सिराहा पुगेका छन् । ‘जिल्ला प्रमुख, समन्वय समितिका अध्यक्षलाई कुटपिट बारे जानकारी गराएको छु । अब के गर्नुहुन्छ । त्यो पर्खदै छु’ –सदरमुकाममा भेटिएका उनले भने । यता प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कर्मचारीमाथि कुटपिट भएको सूचना प्राप्त भएको बताए । प्रजिअ पण्डितले भने, ‘ती कर्मचारीलाई कार्यालयमा भेट्न बोलाएको छु । उहाँ आएपछि नै सबै कुरा थाहा हुनेछ ।’ जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले भने मौखिक जानकारी आएकाले यस विषयमा थप बुभ्mन नपाएको बताए । उनले घटना बुझेपछि मात्रै के गर्ने भन्ने विषयमा छलफल हुने बताए । यसविषयमा नगर प्रमुख पासवानलाई बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । प्रमुख प्रशासकीय अधिकृत दासलाई मोबाइलमा सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको पाइयो । स्थानीयका अनुसार अधिकृत दास केही समयदेखि कार्यालयमासमेत उपस्थित भएका छैनन् ।