उर्लाबारी । बिहीबारदेखि उर्लाबारीमा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको छ । नेरेसो उर्लाबारीद्वारा निर्मित भवनमा सेवा शुरु भएको हो ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सो नवनिर्मीत भवनको अनावरण गरे । रक्तसञ्चार सेवाको आगमनले यस क्षेत्रको मानवीय सेवामा सहज भएको बताएका छन् । यसैगरी नेरेसोका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले रक्तसञ्चार सेवा केन्द्रको संस्थागत विकासका लागि सहयोग गर्ने र एम्बुलेन्स सेवा प्रदान गर्ने बताएका छन् ।

नेरेसो उर्लाबारीका सभापति मदनबाबु प्रसाईंको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा रक्तसञ्चार सेवाकी केन्द्रीय निर्देशक ममता राजकर्णिकार, मोरङ जिल्ला सभापति सुबोध सिंह, उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरत भट्टराई, नेरेसोे उर्लाबारीका उपसभापति तथा भवन निर्माण समितिका संयोजक विजय कार्की लगायतका वक्ताहरुले रक्तसञ्चार सेवाका विषयमा मन्तव्य राखेका थिए ।

उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा करिब १६ लाखको लागतमा निर्माण गरिएको सो भवनमा रक्तसञ्चार सेवा शुरु गरिएको उप–शाखाका सचिव लेखनाथ प्रधानले बताएका छन् । कार्यक्रममा भवन निर्माण समितिका पदाधिकारी र अन्य सहयोगदातालाई प्रशंसा–पत्रसमेत प्रदान गरिएको थियो ।

सोही अवसर पारी आयोजना गरिएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक मेघराज श्रीपालीले बताएका छन् । यस अघि यस क्षेत्रमा रक्तसञ्चार सेवाको अभावमा बिरामीहरुले रगतको लागि धरान र विराटनगरसम्म जानु पर्ने भएकाले जनचाहाना अनुसार उर्लाबारीमा सेवा केन्द्र स्थापना गरिएको सभापति प्रसाईंले बताएका छन् ।