काठमाडाै । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद नथपिने भएको छ । सरकारले २० चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।

दुईपटक म्याद थप्दा पनि तस्करीको सुन भेटाउन नसकेपछि प्रधानमन्त्री केपी ओली समितिको म्याद नथप्ने निष्कर्षमा पुगेका छन् । समितिलाई शुरुमा ४५ दिनको म्याद दिइए पनि थपेर ३ महिना १२ दिन पुर्याइएको थियो । यसबीचमा मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणि उप्रेतीसहित प्रहरीका बहालवाला उच्च अधिकृत र पूर्वडीआईजी समातिए । तर तस्करीको सुन भने अझै पत्ता लाग्न सकेको छैन ।