तेह्रथुम । म्याङलुङ्ग नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित बजेट मंगलवार प्रस्तुत गरेको छ । कार्यक्रममा ३५ करोड ९९ लाख ४० हजारको बजेट नगरपालिकाकी उपप्रमुख पार्वती सानु डाँगीले प्रस्तुत गरेकी हुन् । बजेटमा आर्थिक विकासमा १ करोड ८२ लाख ४५ हजार, सामाजिक विकासमा ३ करोड २५ लाख ४९ हजार, पूर्वाधारतर्फ ३ करोड ४१ लाख ६१ हजार, वातावरण तथा विपद व्यवस्थापनमा ५२ लाख ५० हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा भने २६ करोड ९७ लाख ३५ हजार विनियोजन गरिएको छ । नगरपालिकाले निर्धारण गरेको लक्ष्य रकमको आधा भन्दा कममात्रै राजस्व संकलन भएकोमा चिन्ता व्यक्त गर्दै नगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आगामी वर्षबाट नगरपालिकाको आन्तरिक आम्दानी बृद्धि बारे अध्ययन गरी कार्यान्वयनमा लगिने बताए ।