धनकुटा (नाम्जे) विश्वको उत्कृष्ट १२ गन्तव्य सूचीमा परेको धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र नाम्जे पुग्ने बाटो जीर्ण छ । भेडेटारदेखि नाम्जेसम्मको बाटो पूर्ण रुपमा जीर्ण हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।

०६५ सालमा कालोपत्रे गरिएको सडक ०६८ सालमै भत्किएको थियो । यतिका वर्षसम्म पनि पर्यटकीय स्थलसम्म पुग्ने बाटो निर्माण हुन सकेको छैन । नाम्जे पुग्न भेडेटारबाट ३ किलोमिटर सडक बाटो छिचोल्नुपर्छ ।

अमेरिकी समाचार संस्था सीएनएनले विश्वकै प्रमुख आकर्षक गन्तव्यमा सूचीकृत गरेको नाम्जेसम्म पुग्ने बाटो अस्तव्यस्त भएको छ तर सम्बन्धित निकाय भने नदेखेझैँ गर्दै आएको छ ।

नाम्जे भ्यू प्वाइन्टका सञ्चालक तथा होटल व्यवसायी सुर्दशन खड्काले बाटोकै समस्याको कारण नाम्जेको महत्व घट्दै गएको बताए । ‘यहाँ बल्लबल्ल आएका पर्यटक अर्कोपल्ट बाटोकै कारण फर्केर आउँदैनन् ।’ व्यवसायी खड्काले भने । सरकारी पक्षको बेवास्ताकै कारण लामो समयदेखि बाटो बन्न नसक्दा पर्यटकीय क्षेत्र ओझेलमा परेको उनको भनाइ छ ।

नाम्जे थुम्की होम स्टेका अध्यक्ष अनिलकुमार राणाले २०६८ सालदेखि बाटो बनाउन सरकारी कार्यालयलाई अनुरोध गर्दै आएका छन् । ‘दुई लेनको सडक बन्छ मात्र भन्छ तर एक दशक भयो अहिलेसम्म बनेन,’ दुखेसो पोख्दै राणा भन्छन्,‘होम स्टे पुग्ने पर्यटक बाटो खराब छ भन्दै दैनिक गुनासो गर्छन, धेरै त फेरि फर्केर आउँदैनन्, जंगलको बाटो हिँडिनसक्नु छ ।’ राणा थप्छन्, ‘खै सरकारले पर्यटकीय क्षेत्र मात्र भन्छ, लगानी गर्दैन ।’

नाम्जेका स्थानीय तथा साँगुरीगढी गाउँपालिकाका कार्यपालिका सदस्य बालकृष्ण राईले पनि सडक जीर्ण बन्दा दैनिक समस्या आइरहेको बताए । नाम्जे र भेडेटार बीचको ३ किलोमिटर सडकको हालत खराब भइरहेका कारण पर्यटकहरू आवागमनमा समस्या भएको राईको भनाइ छ ।

‘हामीले बाटो बनाउनु पर्छ भनेर ५ वर्षदेखि भन्दै आएका छौँ तर अहिलेसम्म बनेको छैन,’ राईले भने, ‘सडक डिभिजन कार्यालयले सडक बनाउने भनेको छ तर बनाएको छैन ।’

होटल एसोसियसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले बाटोकै कारण पर्यटकीय क्षेत्रको बेहाल भएको बताउँछन् । ‘बाटो हिँडिनसक्नु छ ।’ उनी भन्छन् । सरकारी संवेदनशीलता नहुँदा पर्यटकीय स्थलको बेहाल भएको लावतीको बुझाइ छ ।

बाटो खतरा भएकै कारण पर्यटकहरू नाम्जे पुग्न डराउँदा पर्यटकको संख्या ओरालो लागेको व्यवसायी लावती बताउँछन् । सरकारले चाँडो सडक निमार्ण गरिदिनु पर्ने उनको माग छ ।

‘अहिले पर्यटकीय क्षेत्र नाम्जे जाने मुख्य बाटो खाल्डाखुल्डी र चिप्लो छ ।’ साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष वृन्द राई भन्छिन् । जनप्रतिनिधि आएसँगै बाटो बनाउ पहल थालिएको तर सम्भव नभएको उनको भनाइ छ ।