जिरोपोइन्ट । नेपाली चलचित्र ‘तिमी हुन्छौ जहाँजहाँ’ असार ८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । मदन दवाडीको प्रस्तुति रहेको प्रेमकथामा आधारित चलचित्रबारे निर्माण युनिटले शुक्रबार धरानमा जानकारी दिएको हो । मुलुकका ८५ वटा सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउन लागेको प्रस्तुतकर्ता दवाडीले बताए । चलचित्रको लागत १ करोड ५० लाख छ । चलचित्रमा डेब्यु नायक मनिषसुन्दर श्रेष्ठलाई बुबाको सोझो छोरोको भूमिकामा देखाइएको छ । चलचित्रमा नायिका मलिना जोशीको प्रवेशसँगै नायकको जीवनमा आउने उतारचढावको परिवेश चलचित्रको प्रमुख कथ्य हो । काठमाडौं, सिन्धुली, मुस्ताङलगायत स्थानमा छायांकन गरिएको चलचित्रमा मणिसुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकालको मुख्य भूमिका रहेको छ । कविराज गहतराज र रेनेस वान्तावा राईको कोरियोग्राफी रहेको निर्माता डालचन्द्र दवाडीले बताए । चलचित्रको ‘तिम्रो हर श्वासमा’ बोलको गीत दुई महिनाअघि युट्युबमा सार्वजनिक भइसकेको छ । गीतमा अन्जु पन्त र फिरोज बस्नेतले आवाज दिएका छन् ।