पानवारी । धरानको विभिन्न चोक–चोकमा भाडामा यात्रु बोक्ने उद्देश्यले स्टेण्ड लगाएर राखिएका निजी सवारीहरु हटाइएका छन् । निजी प्रयोजनको लागि भनेर खरिद गरिएका रातो प्लेटका सवारीले धरानको भानुचोकलगायत छाताचोक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूलगेटअगाडि, सदन स्कुलको अगाडि, वरगाछी र भोटेपुलमा स्टेण्ड नै राखेर भाडामा यात्रु बोक्दै आएकोमा शनिबारदेखि त्यस्ता स्टेण्डमा बस्ने निजी सवारीहरु हटाइएको हो ।

धरानको भानुचोक लोकतान्त्रिक चौतारीको उत्तरपट्टि पार्किङ गरी राखिएका निजी सवारी हटाएपछि सो क्षेत्र शनिबार खाली देखिएको छ । ब्लाष्ट टाइम्स दैनिकमा रातो नम्बर प्लेटका सवारीले पार्किङ गरेर यात्रु बोक्ने गरेको समाचार प्रकाशित भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले त्यस्ता सवारीलाई हटाएको हो । भानुचोकबाट रातो प्लेटका सवारीलाई हटाउन शुरु गरिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर होमराज दाहालले भने, ‘निजी सवारीलाई स्टेण्ड लगाएर यात्रु बोक्न दिँदैनौं ।’

उनले पहिलादेखि नै निजी सवारीले यात्रु बोक्ने बानी परेकोले त्यसलाई हटाउन, सिस्टममा ल्याउन समय लाग्ने भए तापनि अब बिल्कुलै निजी सवारीलाई यात्रु बोक्न नदिने बताए । तर भानुचोकबाट निजी सवारी हटाए तापनि निजी सवारीका ड्राइभरहरु भने गाडी स्टेण्टभन्दा केही पर राखेर सोही क्षेत्रमा भेला भई यात्रुसँग मोलमोलाइ भने गरिरहेका छन् । उनीहरु यात्रु लिन भने सोही क्षेत्रमा बस्ने गरेका छन् ।