बिर्तामोड। झापाको बिर्तामोडमा ३५ बढी सामाजिक संस्थाको सहभागितामा आइतवार बैठक सञ्चालन पद्धति तालिम सम्पन्न भएको छ । वीरता जेसीज, वीरता लेडी जेसीज, भद्रपुर जेसीज, सुरुङ्गा जेसीज, अर्जुनधारा जेसीज र सताक्षीधाम जेसीजको संयुक्त आयोजनामा एक दिने सो तालिम सम्पन्न भएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको तालिममा नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक राजाबाबु साहले प्रभावकारी बैठक सञ्चालन पद्धति बारे प्रशिक्षण दिएका थिए ।

जेसीज पूर्वअध्यक्ष झापाको समेत सहयोगमा भएको तालिममा औचित्यमाथि प्रकाश भद्रपुर जेसीजका अध्यक्ष सोम ढुंगेलले गरेका थिए भने स्वागत वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालले गरेकी थिइन् । वीरता जेसीजका तालिम संयोजक विकास बस्नेत र वीरता लेडी जेसीजकी तालिम संयोजक रीमा भट्टराईले संस्थाका प्रमुख प्रतिनिधिहरुलाई स्वागत सम्मान गराएका थिए । इफेक्टिभ चेयरमेनसिप एण्ड पार्लियामेन्टरी मिटिङ प्रोस्डुडर्स नाम दिएको तालिममा विश्वमा प्रचलित बैठक पद्धति, प्रभावकारी बैठक पद्धति लगायतका बारे ज्ञान सीप प्रदान गरिएको थियो । तालिममा अध्यक्ष र अन्य पदाधिकारीको भूमिकाको बारेमा समेत प्रशिक्षण दिइएको थियो ।

जेसीजले आफ्नो बैठक रोबर्ट रुल्स अफ अर्डर अनुसार सञ्चालन गर्दै आएका छन् । अन्य संस्थाले पनि उक्त पद्धतिबाट बैठक सञ्चालन गरे योजना, निर्माण, कार्यान्वयन, संस्थाको विकास र नेतृत्व क्षमता बृद्धि हुने सहभागीले बताए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विनोद पाण्डे कमलले गरेका थिए ।