साकेला सिली नाचिमा जाऔं तयामा सिली टिपिमा ल्याऔं सोइ सोइला..हौ ..कुर्रा हा.. हा.. ए नि लै लै हौ, बरी लै लै सोइ सोइला ..हौ.. सोइ सोइला

अहिले यस्ता किसिमका धुनहरु किराती गाउँबस्तीहरुमा गुन्जिरहेको छ । प्रकृतिपूजक आदिबासी किरातीहरु पितृलाई र प्रकृतिलाई मान्दछन् । त्यसैले किरात जातिहरु प्रकृतिवादी र पितृवादी हुन् । यसभित्र धेरै पक्षहरु छन्, जसमध्ये साकेला उँधौली–उँभौली पनि एउटा महान् संस्कृति हो । साकेला कसरी उत्पत्ति भयो भन्ने बारेमा अनेकौं तथ्यहरु छन् । केही राजनीतिक, केही धार्मिक र आध्यात्मिक, केही भौगोलिक आदि कथाहरुमा उल्लेख छ । जसमध्ये राजनीतिक तथ्य किराती राजा बुधाहाङ र चेली सोइ–सोइलाको घटना तथ्य यहाँ प्रस्तुत गरिएको छः

[caption id="attachment_3257" align="alignleft" width="255"] लेखकः शालिक सतासत[/caption]

पूर्व ऐतिहासिक तथ्यहरुः नेपालमा किरातहरुको शासनबारे विभिन्न मत भए पनि अहिलेसम्म सर्वमान्य मानिएको चौधौं शताब्दीमा अद्यावधिक र पुनर्लेखन गरिएको गोपाल वंशावलीअनुसार किरातहरुको शासनक्रमको वर्णन गर्दै जाँदा ३२ पुस्ता प्रमाणित गर्दछ र जम्मा शासनावधि १९६३ वर्ष ८ महिना हुनजान्छ (करिब २००० वर्ष) । हाङ यलम्बरले काठमाडौं उपत्यकामा सबैभन्दा पहिले गोकर्ण आधार क्षेत्र, चाँगुनारायण क्षेत्र, त्यसपछि ‘पटुक दो’ (हाल ललितपुर–१८ मा पर्छ) बाट ३२ पुस्तासम्म राज्य सञ्चालन गरेका थिए । वर्तमान समयसम्म पनि यो ‘पटुको टोल’ भनी नेवारी समुदायमा भनिन्छ । राजा पटुकको अन्त्यपश्चात् युवराज गस्ती राजा भएका थिए । (नोटः वर्तमान अवस्थामा उत्खनन् गरी संरक्षण गर्नु आवश्यक देखिएको छ) । वैशाली (वर्तमान उत्तरी विहार) लिच्छवीहरुसँग युद्धमा पराजित भएपछि किरात शासन अन्त्य भयो । लामो समय किरातीहरु ‘पटुक दो’ (शङ्खमूलपारि) दरबार बनाई बसे । लिच्छवी र किरातहरुबीच लामो समयसम्म त्यहा“ पनि युद्ध भयो । अन्तिम युद्ध च्यासलमा भएको मानिन्छ । स्थानीय नेवारी भाषामा ‘च्या’ भन्नाले ८ (आठ) र ‘सस्सल’ भन्नाले ‘सय’ अर्थात् दुवै शब्द मिलाएर ‘आठसय’ भन्ने बुझिन्छ । आठसय किराती सेनाको हत्या गरी गाडिएको जनविश्वास गरिन्छ च्यासलमा (हालः ललितपुर–९ मा पर्दछ) । लिच्छवी र किरातबीच भएको युद्ध मोटामोटी ७५–१०० ई.सन् सम्ममा भएको मानिन्छ । लिच्छवीहरुसँगको पराजयपछि किराती राजा र केही सेनाहरु पूर्वतर्फ पसेका थिए । यही क्रममा बनेपा, साँगाभञ्ज्याङ, धुलिखेल, दरबारडाँडा, किरातीछाप हुँदै दोलखासम्म पुगे । किरातीछापमा राजा बुधाहाङले लामो समय राज्य गरे र उनकी चेली थिइन् सोइ–सोइला । राजा बुधाहाङ प्राकृतिक र पितृपूजक थिए । त्यहाँबाट पनि युद्धमा फेरि पराजित भएपछि हारेको ठाउँको पानीसम्म खान नहुने विश्वासका साथ पुनः तामाकोशी, दूधकोशी, अरुण नदी, तमोर नदी आदिको आसपासमा बसोबास गर्दै आए । यिनै वंशहरु आजका राई, लिम्बू, सुनुवार, याक्खा हुन् ।

किराती राजा बुधाहाङ र चेली सोइ–सोइलाः काठमाडांै उपत्यकाबाट विस्थापित भएपछि पनि किरातीहरु जहाँ–जहा“ पुगे । त्यहीँ राज्य स्थापना गरी राज्य गरेको देखिन्छ । यसै क्रममा सातौं शताब्दीमा किराती राजा बुधाहाङ हाल दोलखामा राज्य गर्दथे र उनकी चेली सोइ–सोइला थिइन् । तर राजा बुधाहाङ आफ्ना पितापुर्खाले शासन गरिल्याएको राज्य गुमाउनु पर्दा धेरै चिन्तित थिए । हाल दोलखा जिल्लाको किरातीछापमा राजा बुधाहाङको दरबार थियो । कैयौं युद्धमा हार बेहोरेका थिए राजा बुधहाङले । त्यसैले माइतीको शिर उठाउनुपर्छ भन्ने चेली सोइ–सोइलाले प्रस्ताव राखिन् । राजा बुधाहाङकी श्रीमती थिइन् सिल्टाङकुप्मा । सिल्टाङकुप्मा साकेला सिली नाच्न चाहिँ पारङ्गत थिइन् । पटक–पटक युद्धमा हारेपछि सारा राज्य जित्नलाई पारुहाङ सुम्निमाको छोरा हेन्कुबुङको स्थापना गरी पूजा आराधना गरेर र माइतीको शिर उठाउन दोलोकुम (श्रीपेच) सुनाखरीको अति राम्रो फूलबाट बनाइएको श्रीपेज लगाउने जिम्मा चेली सोइ–सोइलाले लिइन् । चेली सोइ–सोइलाले निकै राम्रो मेहनतका साथ लेकबेँसी गरी विभिन्न सामग्रीहरु जुटाएर कलात्मक तरिकाले आम्लाबुङ (सुनाखरी) मयुरको प्वाँख मिलाएर दोलोकुम (श्रीपेच) बनाइन् । यही समयमा ढोल, झ्याम्टा बजाएर नाच्दै गाउँदै माले गोरुको भोग दिएर चेली सोइ–सोइलाले माइती राजाको पाउ, कम्मर, काँधहुँदै शिरमा श्रीपेच लगाइदिएर शिर उठाउनु पर्ने थियो । त्यसमा सिल्टाङकुप्माले नृत्यको जिम्मा लिइन् । बाँकी अरुले ढोले, झ्याम्टे नाच्ने नोक्छुङ हेन्खाबुङको पूजा गर्ने आ–आफ्नो जिम्मेवारी लिए । जब शिर उठाउने दिन आयो, सबैजना तयार भए । नोक्छुङले किरातीहरुको तीन चुल्हामा मुन्दुम गाउँदै शुरु गरे, तब बेजोडले काम्दै सृष्टिको सारा बखान गर्दै आए राजा बुधाहाङ । सबैजना सो कार्यलाई मुकदर्शक भएर हेर्दै गए ।

जब सोइ–सोइलाको पालो आयो र बोलाइयो तर उनी त्यहाँ थिइनन् । किन र कहाँ गइन् चेली भन्ने अहिलेसम्म रहस्यमय बनेको छ । ढोल, झ्याम्टाको ताल, धनुकाँड, जाँड–रक्सी र मुन्दुमको साथमा सोइ–सोइलाले दोलोकुम्मा क्रमशः राजाको कम्मर, काँध हुँदै शिरमा लगाउन पाइनन् । जब दोलोकुम्मा शिरमा पुग्थ्यो, तब गोरु काटी भोग दिनुपर्ने थियो । चेली लाजले भागिन् र दोलोकुम पनि अचानक भुइँमा खस्यो । राजा बुधाहाङले ‘दोलोकुम्मा दो सोइ–सोइला’ भनी चेलीलाई बोलाए तर चेली फर्किइनन् । ढोले, झ्याम्टेहरुले जोडले कराए– दोलोकुम्मा दो सोइ–सोइला, दोलोकुम्मा दो सोइसोइला । यही सोइ–सोइलालाई बोलाउँँदा बोलाउँदै साकेलाको गीत बन्यो । यो शब्द एउटा मौलिक र थेगोको रुपमा परिणत भयो । अहिले पनि मुन्दुमविद् नाछोङहरुले यसलाई दोलोकुम्मा दो सोइ–सोइला रिसियाको अन्त्यमा प्रयोग गर्दछन् । दोलोकुम्मा भुइँमा खस्दा त्यो ढुङ्गाको रुपमा परिणत भइसकेको थियो । हालको दोलखा जिल्लाको नाम कसरी रहन गयो भन्ने पनि रोचक प्रसङ्ग छ कि वास्तवमा त्यसैले यो जिल्ला नाम ‘डोलो धा’ बाट दोलो अपभ्रंश हुँदै दोलोधा, दोलखा रहन गएको जनश्रुति छ । ‘डोलो धा’ भनेको किराती भाषामा ‘श्रीपेच झरेको ठाउँ’ भन्ने बुझिन्छ । चेली सोइ–सोइलाको नामबाट गीत बन्यो । त्यसैले अहिले पनि गीतको अन्त्यमा सोइ–सोइला भन्ने शब्दको प्रयोग हुन्छ । सिल्टाङकुप्मा नाचमा पारङ्गत भएकाले शिलीको आविष्कार भयो । सिलीहरु धेरै किसिमका छन् । मोटामोटीरुपमा यसको प्रकृतिलाई हेर्दा तीन किसिमको पाइन्छ । आराधनात्मक सिली (कामना), अनुकरणात्मक सिली (नक्कल), क्रियाकलात्मक सिली (हातले गरिने खेतीपाती गर्दाको अभिनय) आदि हुन् । डोलो ढुङ्गा पछिबाट बिहान बिहान कुखुराको भालेजस्तो कराउने, चल्लाको जस्तो कराउने गर्दथ्यो । हरेक वैशाखमा अर्थात् उँभौलीको बेलामा पूजा गर्न थालियो । हरेक वर्ष किरातीहरुले पूजा गर्न थाले र समयको अन्तरालमा यस डोलो ढुङ्गालाई बोकाको भोग दिएकोले गर्दा त्यो कुखुराको भालेजस्तो कराउन छाड्यो । किरातीहरूले आफू हारेको ठाउँको पानीसम्म खान नहुने जनविश्वासको कारण त्यस ठाउँलाई छाडे र पूर्व पसे । तथापि उनीहरुले आफ्नो संस्कृति भने छाडेनन् । त्यसैले साकेला उँधौली र उँभौलीको महान् चाडको रुपमा विकास भयो ।