‘सेयर बजार अझै चार–पाँच महिना बढ्न गाह्रो’

विष्णुप्रसाद बस्याल

काठमाडौं/हरेक सेयर बजारका आफ्नै विशेषता र आयाम छन्। बीचबीचमा आउने उतार–चढावबाहेक हरेक बजार ‘बुलिस ट्रेन्ड’ मै जाने हो, त्यही देखिँदै आएको पनि छ।

नेपालको बजार हेर्ने हो भने यसअघिको बुल मार्केट २०१२ देखि अर्थात लगभग ३ सयको हाराहारीबाट सुरु भएको हो। त्यो २०१६ को जुलाई २७ सम्म अर्थात १८ सय ८१ अंकसम्म कायम रह्यो।

लगभग ४ वर्षको अवधिमा ६ गुणाले बजार बढ्यो। १८ सय ८१ अंकयता हेर्ने हो भने नेप्सेमा उथलपुथल देखिएको छ। बीचमा १७ सयसम्म पुगेको थियो भने न्यूनतम साढे १२ सयसम्म झरेको थियो।

नेप्सेको अंक हेर्दा बैंकिङ, बिमा, विकास बैंक लगायतका उपसूचक पनि हेर्नुपर्छ। वास्तविक रुपमा सबै सूचक हेर्ने हो भने १६ सय ७५ अंकबाट अर्थात विगत ६ महिनादेखि बजार तल झरिरहेको छ।

सो विन्दुमा एउटा ‘टप’ लगाइसकेपछि बजार ओर्लिरहेको छ। यसलाई बियरिस मार्केट भन्न मिल्दैन, यो एउटा सुधार हो। न्यूनतम कति विन्दुमा सपोर्ट पाउला भन्ने कुरा अहिले चासोको विषय बनेको छ।

अहिलेको अवस्था हेर्ने हो भने १२ सय ७९ को बिन्दुमा नेप्सेलाई सानो सपोर्ट देखिन्छ। यदी त्यो विन्दुमा सपोर्ट पायो भने पनि धेरै माथि जाने सक्ने क्षमता देखिँदैन। ५०/६० अंकसम्म बढ्न सक्छ।

इलेभेटेड टेबललाई आधार बनाएर हेर्ने हो भने सुधारको चक्र पूरा हुँदा नेप्से करिब १२ सयको हाराहारीमा झर्न सक्छ। अर्थात ११ सय ९६ अंकमा सपोर्टको ५० प्रतिशत सम्भावना देखिन्छ। यसै विन्दुमा सपोर्ट पाउने आधार बलियो छ। त्यो लाइनलाई पनि पार गरेमा ११ सय ६० मा झर्न सक्छ। बीचमा केही अंकको उतारचढाव पनि देखिन सक्छ। कतिपयले ९ सयलाई पनि आधार बनाएर भन्ने गरेका छन्। त्यो विन्दुसम्म नेप्से नझर्ला।

विष्णुप्रसाद बस्याल, वित्तीय विश्लेषक।
अझै केही महिनासम्म बजार झरिरहेमा यिनै विन्दुले टेवा दिन सक्ने देखिन्छ। आउने ४/५ महिनासम्म मैले अर्थपूर्ण रुपमा बजार बढ्ने संकेत कम देखेको छु। यसबीचमा केही अंकले बढ्न सक्ला तर त्यो बढ्न ‘टप’ लाग्ने आधार विन्दु हुँदैन।

४/५ महिनासम्मको उतारचढावपछि बजारले पुनः बुलिस ट्रेन्ड समाउन एउटा बलियो आधार विन्दु लिन सक्छ। जुन विन्दु २०१२ मा ३ सयको आसपासमा थियो। बुलिस ट्रेन्डले माथिल्लो विन्दु कति समाउँछ र कति अवधि लिन्छ भन्ने कुरा पनि महत्वपूर्ण छ।

यी कुरा प्राविधिक रुपमा भन्न मुश्किल पर्छ। मेरो विश्लेषणनुसार २०२४ सम्म नेप्सेले करिब ६ हजार अंकको उचाइ लिन सक्छ। नेप्से यदि १ हजारसम्म नै घट्यो भने पनि यसले २०२४ सम्म ६ गुणाकै हाराहारीमा वृद्धि लिन सक्ने सम्भावना मैले देखेको छु।

अर्थपूर्ण रुपमा ट्रेन्डको ‘बटन प्वाइन्ट’ परिपक्व नहुँदासम्म वृद्धिदर क्षणिक अथवा केही दिनको मात्रै हुनेछ। जुन विगत ६ महिनादेखिको ट्रेन्डले प्रष्ट पारिसकेको छ।

अबको एक डेढ महिनासम्म घटेर नेप्से माथि जान सकेमा २ देखि ३ सयसम्मको वृद्धि लिन सक्छ। त्यसपछि फेरि बजारले ‘डाउन मुभमेन्ट’ नै लिन सक्ने देखिन्छ। २०१८ को अन्त्यमा मात्रै बजारले एउटा तलको निश्चित विन्दु समातेर क्रमिक रुपमा सुस्त गतिमा उकालो लाग्न सक्ने म देख्छु।

अब लगानीकर्ता न्यूनतम पनि १२ सय अंकको तयारीमा रहनुपर्छ। यद्यपी त्यो अंक नै अन्तिम हुनेछ भन्ने पनि होइन। २०१२ मा झरेको ३ सयको अंकलाई नै अन्तिम आधार विन्दु बनाउँदा ९ सयको विन्दु पनि नछोला भन्न सकिँदैन।

प्राविधिक विश्लेषणका पनि आ-आफ्नै सिद्धान्त हुन्छन्। आफ्नै सिद्धान्तमा रहेर अंकहरुको अनुमान गर्ने हो। त्यसकारण कसैको विश्लेषण नमिल्दा प्राविधिक विज्ञ नै फेल भए भन्नु पनि गलत हुन जान्छ। मैले आफ्नो सिद्धान्तका आधारमा विश्लेषण गरेको छु।

जस्तो नेप्सेले १८८१ लाई ‘टप आउट’ गर्यो, जतिबेला बैंकिङ उपसूचकले पनि टपआउट गरेको थियो। बिमा, विकास बैंक लगायत अन्य क्षेत्रले अगष्ट २०१७ मा मात्रै गएर नयाँ उचाइ लिए। त्यतिबेला अरु क्षेत्रले नयाँ उचाई बनाएकै कारण परिसूचकलाई नै माथि ताने।

जब १२५० को विन्दुमा नेप्से आयो, मार्केट टप आउट भएको छैन। अझै एक पटक माथि जान्छ भनेर मैले भनेको थिएँ। नेप्सेले नयाँ उचाई बनाउन नसके पनि १७ सयको हाराहारीमा त पुगेकै हो नि।

अहिले चलिरहेको बजारलाई ‘स्टान्डर्ड इलेभेटेड’ प्रक्रियाबाट हेर्ने हो भने मैले भनेका कुराहरुमा प्रवल संभावना देखिन्छ।

सेयर बजारमा सुधार्नुपर्ने कुराहरुः

अनलाइन ट्रेडिङको विकास नेप्सेले गरिरहेको छ। यसलाई टुङ्ग्याउन जरुरी छ। मलाई लाग्छ उहाँहरु पनि यसमा सकारात्मक हुनुहुन्छ। जसले लगानीकर्तामा एउटा सकारात्मक सन्देश प्रवाह गर्छ भने कारोबारमा सहजता पनि थप्छ। अहिले नेप्सेले आफ्नै डाटाहरुलाई पनि व्यवस्थित गर्न सकेको छैन। त्यसलाई व्यवस्थित गर्नैपर्छ।

कम्पनीहरुले जे कुराको रिपोर्टिङ गराएका हुन्छन् वा बोर्ड मिटिङका निर्णयहरु हुन्छन्, ति समयमै नेप्सेको वेबसाइटमा अपडेट हुनुपर्यो। ताकि सामान्य लगानीकर्ताले पनि समयमै सूचना पाउन सकून् अर्कोतर्फ सूचना चुहावट हुन नपाओस्।

यहाँ सूचक बढ्यो भने मात्रै कमाउने अवस्था छ। तर घटेको अवस्थामा त्यो छैन। अर्थात ‘अप्सन’ वा ‘फ्युचर’ बजार छैन। हामीले बजार तल झर्दैछ भन्ने थाहा पाउँदा पनि त्यसबाट कमाउने अवस्था छैन। डेरिभेटिभ बजारको अवधारणा ल्याउनुपर्यो। एउटा सूचकको गतिलाई नै अनुमान गरेर पनि कमाउने वातावरण बनाउनुपर्यो। यसले लगानीको दायरा फराकिलो हुन्छ भने गुणात्मकता पनि ल्याउँछ।

अर्को समस्या भनेको कम्पनीहरुले दिएका बोनस, हकप्रदले गर्दा आपूर्ति ज्यादा छ। दुई वर्षको अवधिमा ३ देखि ४ गुणा सेयर थपिएको छ। त्योअनुसार बजारले स्वीकार्न सक्ने सेयर लगानीकर्ताको संख्या बढेको छैन। सहभागी बढाउन नेप्सेले ब्रोकरलाई नै निश्चित गाइडलाइन्स तथा क्राइटएरियाहरु बनाएर जिम्मा दिएमा उचित हुन्छ।

नेपालभर ब्रोकर कम्पनीहरु संचालन गर्नुपर्यो, यदी त्यो सम्भव छैन भने भएका ब्रोकर कम्पनीहरुलाई नै शाखा तथा उपशाखा खोल्न लगाएर देशभर पुर्याउन सकिन्छ।

त्यस्तै वाणिज्य बैंकहरुका सहायक कम्पनीहरु छन्। उनीहरुमार्फत पनि ब्रोकिङ सेवा संचालन गर्न सकिन्छ।

अर्को कुरा हामीले आइपिओ, एफपिओ आवेदन गर्छौं। त्यसमा पनि घरबाटै दिन सक्ने व्यवस्था हुँदा सहज हुन्छ। आइपिओमा आवेदन दिइसकेपछि बाँडफाँट चाँडो होस्। ताकि सेयर नपरेको पैसा चाँडो परिचालन गर्न सकियोस्।

अर्को समस्या के देखिन्छ भने कम्पनीहरुले बोनस सेयर घोषणा गर्छन्, तर डिम्याट खातामा आउन निकै समय लाग्छ। त्यसमा पनि नेप्से र धितोपत्र बोर्डले मिलेर सुशासनमा ल्याउनुपर्यो। कम्पनीहरुको संस्थागत सुशासन निकै कमजोर देखिएको छ। त्यसलाई सुधार्न नियामकले कडा कदम चाल्नुपर्यो।

हामीले अर्थतन्त्रको आकारलाई हेरेर सुहाउँदो इन्डेक्स परिकल्पना गर्नु वा अपेक्षा गर्नु हुँदैन। सूचीकृत कम्पनीहरुको वित्तीय स्थिति कस्तो छ, कति प्रतिफलमूलक छन्, आउने दिनमा कति दिन सक्छ भन्ने कुराले नै इन्डेक्सको मुभमेन्ट आउने हो।

(सेतोपाटीका कमल नेपालसँगको कुराकानीमा आधारित)

ताजा अपडेट