timthumbइलाम/ सरकारले कनिष्ठ कर्मचारीहरूलाई स्वास्थ्य कार्यालयका प्रमुख बनाएको भन्दै त्यसको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । कनिष्ठको मातहतमा काम गर्दा आप्नो मानमर्दन भएको भन्दै देशभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । यसैको विरोधमा जिल्लाका स्वास्थ्यकर्मीहरू पनि आन्दोलनमा ओर्लिएका छन् ।

गत चैत १२ मा स्वास्थ्य सेवा ऐनको चौथो संशोधनले बढुवा भएका स्वास्थ्यकर्मीहरूको पद व्यवस्थापन गर्ने व्यवस्था गरेको थियो । सचिवस्तरीय निर्णयले वरिष्ठलाई कार्यालय प्रमुख बनाउने निर्णय गरेको थियो । तर स्वास्थ्यमन्त्री खगराज अधिकारीले लोकसेवाबाट नयाँ पदपूर्ति भएका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य कार्यालयको प्रमुख बनाउने निर्णय गरेकाले यसमा सुधार गरी वरिष्ठतालाई आधार मानिनुपर्ने माग राख्दै देशभरका स्वास्थ्य प्रमुखहरू आन्दोलनमा ओर्लिएका हुन् ।पाचौँ तहका हेल्थ असिस्टेन्ट स्वास्थ्य चौकीका इञ्चार्ज भएकामा विवाद भइरहेको थियो ।

स्वास्थ्यकर्मीहरूले पदअनुसार काम नपाएको भन्दै आन्दोलन गरेका हुन् । बढुवा भएका कर्मचारीहरूलाई पदस्थापना गर्ने स्वास्थ्य मन्त्रालयको योजना रहे पनि पदस्थापन गर्न चौथो तहमा दरबन्दी खुलाउपर्ने र त्यसबाट अर्थमन्त्रालयलाई आर्थिक भार हुने भएकाले सहमति हुन नसकेको हो ।क्षेत्रीय स्तरमा मङ्सिरमै आन्दोलन शुरु भए पनि केन्द्रीय स्तरमा पुस १९ गते आन्दोलन थालिएको छ । स्वास्थ्यसँग सम्बन्धित सबै कार्यक्रम स्थगित गरेर स्वास्थ्यकर्मीहरू धर्नासमेत बसेका छन् ।

केन्द्रमा दवाब दिन इलामको जिल्ला जनस्वास्थ्य कार्यालयका २५ जना स्वास्थ्यकर्मीहरूको टोली आइतबार राजधानी प्रस्थान गर्दै छ । जनतालाई सेवा प्रवाहमा आन्दोलनले असुविधा नभएको जिल्लाका स्वास्थ्यकर्मीहरूको आन्दोलनका संयोजक उमेश शाहले बताए ।