धरान  / अन्धकार थियो, नदी सुसाइरहेको थियो, कोही रोइरहेका थिए, कोही कराइरहेका थिए । मेरो शरीर थिचिएकाले बोल्न मिलिरहेको थिएन । पानीमाथि म थिएँ । जब म निद्राबाट ब्युझिएँ, मैले यो दृश्य देखेँ ।” चितवन मेडिकल कलेजमा श्रीमती, छोरा र छोरीसँगै उपचार गराइरहेका २८ वर्षीय राजेश गुप्ताले बिस्तारै घटना सुनाइरहनुभएको थियो । साँझ ५ः३० बजेतिर गौरबाट बस चढेको सो परिवारसँगै गुप्ताका साला पनि बसमा सँगै थिए ।

बसको ढोका नजिकैको सिटमा रहेको सो परिवार बसमा सँगै रहेका २२ जनाको मृत्यु हुँदा समेत जीवित रहन सकेकामा बरर्र आँसु झार्दै गुप्ता हर्षविभर्स भए ।

पछाडिका सिटमा बसेका सालाको अवस्था थाहा नभएको गुप्ताले बताए । भारतको सितवनी घर भई तनहुँ दुलेगौँडामा गुप्ता मसला पसल सञ्चालन गर्दै आएका गुप्ताको परिवार छोराको उपचारका लागि भारत गई फर्केको थियो । उनँका २८ वर्षीया श्रीमती सुगन्धी, साढे दुई वर्षीय छोरा आकाश र पाँच वर्षीया छोरी श्वेता पनि घाइते छन् ।

राजेशले कसरी दुर्घटना भयो आफूले थाहै नपाएको बताए । उनले भने “म ब्यँुझदा पानीमाथि तैरिरहेको थिएँ ।” धेरैबेरको पर्खाइपछि प्रहरी उद्धारका लागि पुगेको गुप्ताले दुःखेसो पोखे । गुप्ताको बायाँ खुट्टा भाँचिएको छ ।

श्रीमती सुगन्धीले भाइको अवस्थाका बारेमा थाहा नभएकामा दुःख पोखे । बसमा निदाएकाले आफू ब्यँुझदा नदी किनारमा सबै रोइकराइरहेको गुप्ताले बताए । उनले भने“धेरैबेरपछि प्रहरी पुगी डुङ्गामा हालेर यहाँ ल्याइएको हो ।” चितवन मेडिकल कलेजमा उपचाररत गुप्ताको अनुहार र शरीरमा चोटपटक लागेको छ ।

चन्द्रनिगाहपुरकी नौ वर्षीया मिली साह स्याङ्जाको वालिङ जान हिँडेको थियो । परिवारका अन्य सदस्यसँग बिहीबार दिउँसो नै जाने तयारीमा रहेको उनको परिवारले दिउँसोको बस नपाएपछि रातिको बस चढेको थियो । उनले भनिन्, “म र बाबासँगै बसेका थियौँ । राति भएकाले म पनि निदाएको थिएँ । निद्राबाट ब्यँुझिदा म त खोलाको भित्तामा थिएँ । मान्छेहरु कराइरहेका थिए । कहाँबाट कराएका हुन् मैले पत्तै पाइन । अन्धकार थियो । तर मैले मान्छेहरु बचाउ बचाउ भन्दै कराइरहेको सुनेँ ।”

वैरहनी–७ रौतहटका ३० वर्षीय शेष सराज शिक्षा सेवा आयोगको परीक्षा दिन पोखरा जाँदै थिए । चार साथीसँगै परीक्षा दिन जाँदै गर्दा सो दुर्घटना भएको हो । अस्पतालमा उपचाररत सराजले भने “गाडी खस्यो, साथी प्रमोद दासले १०० मा फोन गरेर प्रहरीलाई खबर गरेको हो ।” उनले थपे “हामी पानीमाथि गाडीको डन्डीमा समाएर बसेका थियौँ । उद्धारका लागि प्रहरी आउन धेरै बेर लाग्यो ।” समयमा उद्धार भएको भए यतिधेरै मान्छे नमर्ने उनको भनाइ छ । प्रहरी भने घटनास्थल पत्ता लगाउन नसकेर करिब एक घन्टा भौँतारिरहेको थियो । शुक्रबार विहान करिब ३ः३० बजे घाइते रीतेश ठाकुरले जिल्ला प्रहरी कार्यालय चितवनको कन्ट्रोलमा घटनाबारे जानकारी गराए । सो खबर तत्काल प्रहरी प्रमुख कुँवरलाई जानकारी भयो । उनले मातहतका प्रहरी तत्काल परिचालन गरे । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमाललाई घटना भएको जानकारी तत्काल उनँले गराए । लगत्तै आफ्ना मातहतका नौ प्रहरी लिएर हमाल घटनास्थलतर्फ गएका थिए । उनले भने “तत्काल हामी घटनास्थलतर्फ लाग्यौँ तर ठाउँ पत्ता लगाउन निकै कठिन भयो, घाइतेलाई आफू कहाँ छु भन्ने पत्तो थिएन ।” उनले थपे “सबैतिर अन्धकार थियो, त्यही बाटो चार पटक ओहोरदोहोर गरेपछि बल्ल घटनास्थल पहिचान भयो । घाइतेले बालेको मोबाइलको उज्यालो हेर्दै हामी घटनास्थलतर्फ झ¥यौँ ।” उनले भने “ठाउँ पत्ता लगाउन प्रहरीले सिठ्ठी बजाउने, साइरन बजाउने र लाइट बाल्ने गर्न थाल्यो । घाइतेको मोबाइलमा सम्पर्क भइरहेको थियो । जब घाइतेले सिठ्ठीको आवाज सुने, अनि हामीलाई स्थान पहिचान गर्न सहज बन्यो ।accident-data

त्रिशूलीमा बस खस्दा मृत्यु भएका अठारको सनाखत

नारायणगढ–मुग्लिन सडक खण्डको चन्डिभन्ज्याङ गाविस–६ कालीखोला नजिकैबाट आज बिहान ३ बजेतिर त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जनामध्ये १८ जनाको सनाखत भएको छ । त्यसमा चालकको समेत मृत्यु भएको छ । तीमध्ये ११ जनाको शव आफन्तले बुझेर लगेका छन् । घटनामा परी १६ जना घाइते भएका छन् । रौतहटको गौरबाट पोखराका लागि बिहीबार साँझ छुटेको ग१ख ३७०९ नंको बस दुर्घटनामा परेको हो । जिप्रका चितवनका अनुसार घटनास्थलमा २१ जना र उपचारका क्रममा चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । अन्य चार जना हराइरहेको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ ।

मृत्यु हुनेमा अधिकांश रौतहटका तथा केही भारतीय पनि परेका छन् । सनाखत भएकामा रौतहट, मुडवलवा–३ बस्ने ३६ वर्षीय चितरञ्जन यादव, महम्मदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय वृजकिशोर कुशवाह, वसतपुर–१ बस्ने २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौर –१२ बस्ने ५५ वर्षीय जोखु साह (खानेपानी संस्थानका कर्मचारी) छन् ।

त्यसैगरी रौतहटकै इनर्वा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, राजपुरतुल्सी–३ बस्ने २५ वर्षीय कामेश्वरप्रसाद साह, गरुडा–१४ जयनगर बस्ने २६ वर्षीय शेष सहजित आलम, लौकाह–२ बस्ने ३६ वर्षीय सचिन्द्रप्रसाद यादव र गौर –१३ बस्ने ३५ वर्षीया सन्ध्या श्रीवास्तव छन् । सनाखत भएका अन्यमा कास्की पोखरालभल्ली डाँडा बस्ने ४१ वर्षीय चित्रबहादुर बोहरा (राकेश) र बसका चालक कास्की, लेखनाथ–१ बस्ने ३३ वर्षीय लोकराज पौडेल छन् ।

त्यस्तै भारत पूर्वी चम्पारण विहार बस्ने ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर, भारत मोतीहारी बस्ने ४० वर्षीय रामसागर भगत र मोतीहारी बेरेवाढाका थाना विहार बस्ने ३५ वर्षीया नथुनी चौधरीको सनाखत भएको छ । मृतक २२ मध्ये तीन महिला र १९ पुरुष छन् । घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेज र चार जनाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ ।

बसमा ४२ जना सवार रहेको देखिन्छ । तीमध्ये मृतक र घाइतेको सङ्ख्या ३८ छ । अन्य चार नदीमा बेपत्ता भएको अनुमान गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । बेपत्ताको खोजी साँझ अबेरसम्म जारी रहेको थियो । उद्धारमा नेपाल र सशस्त्र प्रहरी बलका उच्च प्रहरी अधिकृत जुटेका थिए ।

सडकबाट करिब २०० मि तल त्रिशूली नदीमा खसेको बस टुक्राटुक्रा परेको थियो । बसका कतिपय यात्रु टुक्रिएको बस पानीमाथि तैरिएपछि त्यसमाथि बसेर बचेका थिए । घटनास्थलको पाखामा केही शव तथा घाइते पनि भेटिएका थिए । दुर्घटनास्थलबाट सोझै उद्धार गर्न नमिलेपछि प्रहरीले करिब ६०० मि तल कालीखोलासम्म डुङ्गामा राखेर घाइते तथा मृतकको उद्धार गरेको छ । घटनाको प्रकृति हेर्दा चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने कुँवरले बताए ।

रासस