काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राजनीतिक दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने भएकाले निर्वाचनका लागि तयारी रहन आयोगलाई निर्देशन दिएका छन् । Khadga-Prasad-Oli_380_AP आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मा र आयोगका सचिव शारदाप्रसाद त्रिताल सहितको सो बैठकमा प्रम ओलीले निर्वाचनका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक तथा अन्य सबै सहयोग सरकारका तर्फबाट आयोगलाई दिने जानकारी दिएको कानुनमन्त्री खरेलले सञ्चारकर्मीलाई बताए ।

 सहयोग उपलब्ध हुने

सरकारले आगामी निर्वाचनहरुका लागि आवश्यक पर्ने कानुनी, प्रशासनिक, प्राविधिक तथा अन्य आवश्यक सबै सहयोग निर्वाचन आयोगलाई प्रदान गर्ने जानकारी गराएको छ । संविधानमा रहेका बाध्यकारी प्रावधान अनुरुप आगामी डेढ वर्षभित्र स्थानीय, सङ्घ/प्रदेश र संसद्का निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुनमन्त्री अग्निप्रसाद खरेल तथा मुख्य सचिव डा सोमलाल सुवेदी आज आयोगका कार्यालय कान्तिपथ गई आयोगका गतिविधिबारेमा जानकारी लिने क्रममा सरकारका तर्फबाट आयोगलाई सो जानकारी गराएको हो । सरकारले आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ तर, मिति घोषणा भएको छैन । सरकारले निर्वाचन आयोगसहित राजनीतिक दलको आवश्यक परामर्शमा स्थानीय निकायको निर्वाचनको तिथिमिति छिट्टै घोषणा गर्ने तयारी गरिरहेकाले आयोगलाई पूर्व जानकारी गराएको हो ।

तयारी अवस्थामा छौँ :  आयुक्त

बैठकपछि कावा प्रमुख निर्वाचन आयुक्त डा यादवले संविधानका प्रावधानअनुसार निर्वाचन गराउन आयोग तयारी अवस्थामा नै रहेको बताए । जुनसुकै निर्वाचनका लागि आयोगलाई तयारीका लागि एक सय २० दिन आवश्यक पर्ने हुन्छ, आगामी मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्न आयोग तयारी अवस्थामा छ” – उनले भने । डा यादवले स्थानीय निकाय निर्वाचनका लागि स्थानीय निकाय कार्यविधि ऐन संशोधन आवश्यक हुने जानकारी दिए । रासस