सोलुखुम्बु/सोलुखुम्बुको सोताङमा प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डक्टरविहीन हुँदा कोसीपारिका बिरामी उपचारबाट वञ्चित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक डेनप्रसाद आचार्य थप अध्ययनका लागि काठमाडौँ गएको तीन महिना बित्दासमेत अर्काे चिकित्सकको व्यवस्था नगर्दा स्वास्थ्य केन्द्रको सेवा पूर्णरुपमा प्रभावित भएको हो । अहिले उक्त स्वास्थ्य केन्द्र अहेब र अनमीको भरमा चलिरहेको छ । doctor गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अन्यत्र जानुपर्ने कोसीपारिका बासिन्दाको बाध्यता छ । तर सोताङ बुङ, छेस्काम, गुदेल, वाकुलगायतका आठ गाविसका नागरिकको उपचारको केन्द्र रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अर्काे चिकित्सकको व्यवस्था गर्न अझै चार महिना लाग्ने स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । स्वास्थ्य कार्यालय फाप्लुका प्रमुख रोशनलाल चौधरीले दसैँसम्म नयाँ चिकित्सकको व्यवस्था गर्न नसकिने बताउनुभयो । डा आचार्यको दरबन्दीमा अर्काे चिकित्सक ल्याउन समय लाग्ने उहाँको भनाइ छ । तर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताउनुभयो । स्वास्थ्य मन्त्रालय र विभागसँग आज नै कुरा गर्ने बताउँदै प्रजिअ शर्माले तीन महिनासम्म सर्वसाधारणले सेवा नपाएको भन्दै अबको केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताउनुभएको हो । सदरमुकामबाट १२ कोष टाढा रहेको सोताङस्थित सो प्राथमिक स्वास्थ्य केन्द्र सदरमुकाम आउनकै लागि तीन दिन लाग्ने कोसीपारिका आधादर्जन गाविसवासीका लागि उपचार गर्ने एक मात्र स्वास्थ्य केन्द्र हो । रासस