पछिल्लो पाँच दिनमा हामीले जे देख्यौँ, यो हाम्रा लागि एकदमै दुःखदायी हो । यस्ता कहरहरु हामीले कुनै न कुनै रुपमा देख्दै आएका छौँ । रसुवामा आएको बाढी महाविपत्ति हो । यो विपत्तिको सामाना एक्लैले मात्रै गर्न सक्ने अवस्था छैन । यो बेलामा छिमेकी देशहरु तथा दातृ संस्थाहरुसँग हारगुहार गर्नै पर्छ । वर्षा नभइकन जुन खालको बाढीको सामना गर्यौँ । यसले जनधनको क्षति मात्रै भएन, यसले मुलुकलाई फेरि एक पटक गम्भीर शोक र चिन्तामा डुबाइदिएको छ । यो बेला सबै नेपाली एक भएर लाग्नुपर्ने अवस्था छ ।

सरकारको उपस्थिति कति भयो, कति भएन भन्ने विषयमा केही पछि समीक्षा र छलफल गर्दै जाउँला तर यस महाविपत्तिमा परेका मानिसहरुको खोजी, उद्धार चाहिँ पहिलो प्राथमिकता हुनुपर्छ । त्यस्तै जीवित मानिसहरुलाई सुरक्षित स्थानमा ल्याउने कामहरु सुरूवाती चरणमा गरिनुपर्छ । बाँचेका पनि भोकले मर्ने स्थिति सिर्जना गरिनुहुँदैन । अर्कोतिर शव व्यवस्थापनलाई पनि छिटोभन्दा छिटो गर्नेतर्फ लागिएन भने अर्को विपत्ति आउने खतरा हुन्छ । त्यतातिर पनि हाम्रो ध्यान जान जरूरी छ ।

विपत्ले अर्को महाविपत्ति ल्याउनु हुँदैन । शोकको यस घडीमा सबै संवेदनशील बन्न आवश्यक छ । यो विपत्तिमा कति मानिस हराए, कति मृत्युको मुखमा पुगे वा कत्ति अझै फेला पर्न बाँकी छन् भन्ने विषयमा खोजीको विषय हो । यसलाई निरन्तरता दिनुपर्छ । यो बेला प्रत्येक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्छ ता कि हामीले एकता, सहकार्य, सहकारिता, समन्वयलाई जीवित राख्नुपर्छ । ‘वसुधैव कुटुम्बकम्’ को नारालाई आत्मसात गर्न जरूरी छ । हामीले यस्ता अकल्पनीय पीडा विगतदेखि भोग्दै आएका छौ“ । त्यो २०६५ साल भदौ २ को कोशी फुटेको घटना होस् वा अन्य खालका विपत्ति ।

यो महाविपत्ति आउनुमा नेपालीको भूमिका सबैभन्दा कम छ । तर पनि सबैभन्दा जोखिममा हामी छौ“ । जलवायु परिवर्तनको असर हाम्रा जस्ता गरिब राष्ट्रहरुले भोग्दै आएका छन् । हिमालहरु कालापहाडमा र चट्टानमा परिणत हुँदैछन् । यसमा हाम्रो भूमिका कति र अन्य देशहरुको भूमिका कत्ति भन्ने विषयमा बुझ्न आवश्यक बन्दै गएको छ । यो महाविपत्ति पनि जलवायु परिवर्तनको एउटा ज्वलन्त उदाहरण हो । यस्ता अनेकन समस्याबाट गरिब राष्ट्रहरुले भोग्दै आएका छन् ।

यस्ता ह्दयविदारक तस्बिरहरु किन गरिब राष्ट्र अर्थात् तेस्रो विश्वले मात्रै भोग्नुपर्ने हो । यसका पछाडि विश्वमा जुन खालको होडबाजी चलिरहेको छ, त्यसको असर हाम्रा जस्ता देशहरुले भोगिरहेका छन् । जुन देशले शून्य बराबर कार्वन उत्सर्जन गरिरहेका छन् ती देशहरु नै सबैभन्दा बढी मारमा परिरहेका छन् । नेपालको भूसंवेदनशील हिमाली पर्यावरण र जलवायु परिवर्तनको जोखिमको महाकहर हामीले फेरि पनि भोग्यौँ ।

हामी आफै पनि केही सचेत हुने बेला पक्कै आएको छ । यसको विभिन्न सङ्केतहरु यसअघि पनि नदेखिएका होइनन् । भोटेकोशीमै गएको वर्षको असोजमा ठूलो जनधनको क्षति हुन पुगेको थियो । यसले पनि हामीलाई केही सङ्केत गरेकै थिए । तर हाम्रो अटेरीपन र बाध्यताका कारणले हामी सुध्रिन सकेनौँ । हाम्रा काम गर्ने शैलीहरुमा पनि परिवर्तन गर्न आवश्यक हुँदै गएको छ । अव्यवस्थित र अवैज्ञानिक पूर्वाधार विकासलाई पूर्णविराम लगाउन आवश्यक छ ।

डोजरे विकासले हाम्रो वातावरणलाई क्षति पु¥याउँदै लगिरहेको छ । यस्ता प्रवृत्तिको अन्त्य अब आवश्यक छ । जलवायु परिवर्तनको जोखिममा हामी जति छौँ, अन्य देश धेरै मात्रामा कम छन् । त्यसकारण पूर्वसूचना प्रणालीलाई पनि मजबुत बनाउनुपर्ने देखिएको छ । केही स्कुलका नानीहरु कसरी सुरक्षित हुन सके भन्ने पाठबाट सिक्यौँ भने पनि हामी धेरै अगाडि बढ्न सक्छौँ । अर्कोतर्फ विपत् प्रतिकार्यलाई पनि प्राविधिक र विशिष्टीकृत बनाउन आवश्यक छ । अबको नीति र नेतृत्वले हरियाली जोगाउने, नदी प्रणालीलाई सम्मान गर्ने, विदेशी प्रविधिको बुद्धिमानी प्रयोग गर्ने र आफ्नो सुरक्षा निकायलाई सबल बनाउनेतिर लाग्न आवश्यक बन्दै गएको छ ।