विजयपुर । नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशन भदौ १५ गते धरानमा हुने भएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घअन्तर्गत रहेको सङ्घले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै भदौ १५ गते सोमबार महाधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो ।

महाधिवेशनमा कोशी प्रदेशका १४ जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट तीन–तीन जना प्रतिनिधि सहभागी हुनेछन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाबाट चार जना तथा काठमाडौं उपत्यकाबाट समेत प्रतिनिधि सहभागी हुने गरी १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने सङ्घका अध्यक्ष आनन्दसन्तोषी राईले बताए ।

सङ्घले धरानलाई ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक केन्द्रका रूपमा उल्लेख गर्दै नेपाली कांग्रेसको विचार, दर्शन र सिद्धान्तलाई आत्मसात् गर्ने तथा पार्टीको विधान, नियम र निर्देशनअनुसार देश र जनताको सेवामा समर्पित राजनीतिक कार्यकर्ता निर्माण गर्ने उद्देश्यले महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ । महाधिवेशनको बन्द सत्रमा सङ्घको विधान संशोधन तथा परिमार्जन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिनुका साथै नयाँ नेतृत्व चयन गरिने सङ्घका उपाध्यक्ष सुवास राईले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय नेतासहित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले गर्नेछन् । सङ्घद्वारा जारी विज्ञप्तिमा नेपालमा विभिन्न संघर्ष र आन्दोलनमार्फत राजनीतिक परिवर्तनका लागि विश्वसिंह लाओ, बुद्धिमान राई तथा लिम्बू, मगर, गुरुङ लगायत आदिवासी जनजाति समुदायले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरिएको छ । पार्टी तथा राज्यको नेतृत्वमा जिम्मेवारी लिन योग्य र सक्षम नयाँ पुस्ताको आवश्यकता रहेको भन्दै सङ्घले प्रथम महाधिवेशनबाट सक्षम तथा जनपक्षीय नयाँ नेतृत्व निर्माण हुने विश्वास व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख तिलक राई, किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राई लगायतको उपस्थिति थियो ।