विजयपुर । सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढ्दै गएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका स्थानीयवासीलाई लक्षित गर्दै नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।
प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ। विशेषगरी नदीमा माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडिओ बनाउनेजस्ता गतिविधि नगर्न प्रहरीले सचेत गराएको छ।
सहायक नदीहरूमा पानीको बहाव बढ्दा सप्तकोशी आसपासका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयवासीले प्रहरी तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र निर्देशन पालना गर्नुपर्ने प्रहरीले जनाएको छ।
प्रहरीको सूचनामा ‘नागरिकको सुरक्षा, हाम्रो प्राथमिकता’ भन्ने सन्देशसहित सम्भावित जोखिमबाट जोगिन सबैमा अनुरोध गरिएको छ।