विजयपुर । अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ का लागि नेपाली टोली छनोट प्रक्रियाअन्तर्गत कोशी प्रदेशस्तरीय खेलाडी छनोट धरानमा सुरु भएको छ ।
देशभरका जिल्लास्तरीय छनोटबाट छनोट भएका युवा फुटबल खेलाडीमध्ये कोशी प्रदेशका २७२ जना खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन् । धरानस्थित एन्फा एकेडेमीमा शनिबारदेखि सुरु भएको छनोट प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४९ जिल्लामा सञ्चालन गरेको खुला छनोटबाट उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय छनोटका लागि पठाएको हो । कोशी प्रदेशअन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, धनकुटा, उदयपुर, खोटाङ र भोजपुर गरी ११ जिल्लाका खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन् ।
राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्यसहित जिल्लास्तरबाट आएका प्रतिभावान खेलाडीले धरानमा आफ्नो फुटबल कौशल, शारीरिक क्षमता र खेल प्रदर्शन प्रस्तुत गरिरहेका कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए ।
उनका अनुसार प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडीलाई अन्तिम केन्द्रीय छनोटका लागि काठमाडौं पठाइनेछ । एन्फाका अनुसार देशभर करिब पाँच हजार युवा खेलाडी जिल्ला छनोट प्रक्रियामा सहभागी भएका थिए । स्थानीय तह तथा जिल्लास्तरमा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय टोली निर्माण गर्ने उद्देश्यले खुला छनोट कार्यक्रम सञ्चालन गरिएको हो । केन्द्रीय छनोटबाट करिब ३० देखि ३५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिनेछ । बन्द प्रशिक्षणपछि अन्तिम १४ सदस्यीय नेपाली टोली घोषणा गरिने एन्फाले जनाएको छ ।
फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ आगामी अक्टोबर २२ देखि ३१ सम्म अजरबैजानमा आयोजना हुँदैछ । प्रतियोगितामा एक टोलीबाट आठ खेलाडी मैदानमा खेल्नेछन् भने प्रत्येक टोलीले बढीमा १४ खेलाडी दर्ता गर्न पाउने व्यवस्था रहेको एन्फाले जनाएको छ ।