खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको घटनामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
ऋषितर्पणी पूर्णिमाका अवसरमा धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा लागेको मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि राईमाथि कुटपिट भएको थियो । गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा सुङ्देलका ११ जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी ज्ञानबहादुर खड्काले बताए । उनका अनुसार पक्राउ परेकाहरूको नाम तथा अन्य विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
“घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन” डिएसपी खड्काले भने, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप विवरण खुल्छ ।” घटनास्थलबाट नियन्त्रणमा लिइएका आरोपितसहित प्रहरी टोली जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याउँदै गरेको उनले बताए ।
राहत कोटामा निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राई तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै बिहीबार गाउँबाट हिँडेका थिए । उनी सङ्खुवासभाबाट फर्किएपछि सालपा पोखरी पुगेको र बिहीबार राति गाउँलेहरूसँगै बसेको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताए ।
प्रत्यक्षदर्शीका अनुसार सालपा पोखरीनजिकै लागेको धार्मिक मेलामा सहभागी हुने क्रममा बिहीबार दिउँसो सुङ्देलकै ‘माइकल’ भनिने निशान राईसँग शिक्षक राईको विवाद भएको थियो । दिउँसो भएको विवादपछि राति गाउँलेलाई उठाएर योजनाबद्ध रूपमा कुटपिट गरी हत्या गरिएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
सामूहिक कुटपिटबाट शिक्षक राईको मृत्यु भएको प्रारम्भिक विवरण आएपछि घटनामा संलग्न कसैलाई पनि उम्कन नदिने गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटना भएको स्थान भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कानूनी कारबाहीको प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले अघि बढाउनेछ ।
घटनास्थल खोटाङतर्फबाट समेत प्रहरी टोली परिचालन गरिएको भए पनि आवश्यक सहयोग गर्नुपरेमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट सहयोग गरिने सूचना अधिकारी एवम् प्रहरी इन्स्पेक्टर निराजन बस्नेतले जानकारी दिए । (रासस)