विजयपुर । धरान उपमहानगरपालिकामा विद्युत आपूर्तिमा समस्या देखिएपश्चात स्थानीयले विद्युत प्राधिकरणको धरान वितरण केन्द्रलाई ध्यानाकर्षण गराएका छन् ।


बिहीबार लामो समयदेखि विद्युत आपूर्तिमा समस्या आएको भन्दै स्थानीयले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए । धरान–११ र १७ का विभिन्न टोल विकास समितिका प्रतिनिधिहरू धरान–१६ स्थित वितरण केन्द्र पुगेर कार्यालय प्रमुख इन्जिनियर कृष्णहरि पोखरेललाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराए । १३ वटा टोल विकास समितिको संयुक्त समितिले यसअघि पनि विद्युत समस्याबारे ध्यानाकर्षण गराएको बताएका छन् । साकेला टोल विकास समितिकी अध्यक्ष मात्रिका राईले अत्यधिक गर्मीका बेला घण्टौंसम्म विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेको बताइन् ।

संयुक्त समितिका सचिव इन्द्रकुमार राईले सामान्य वर्षा वा चट्याङ पर्दासमेत विद्युत सेवा अवरुद्ध हुने गरेको गुनासो गरे । उनले भने, “दिनको समयमा पनि तीन–चार पटकसम्म लाइन जाने गरेको छ । यसअघि पनि ध्यानाकर्षण गराएका थियौं । तर, समस्या समाधान हुन सकेको छैन ।” संयुक्त समितिका अध्यक्ष उमेश राईले एक वर्षअघि पनि समस्या समाधान नगरेको बताए । उनले विद्युत अवरोधको कारणबारे स्पष्ट जानकारीसमेत नपाइने गुनासो गरेका छन् । विद्युत अवरुद्धका विषयमा केन्द्रका प्रमुख इन्जिनियर पोखरेलले पुराना लाइन र ट्रान्सफर्मरको क्षमता कमजोर भएकाले समस्या बढ्दै गएको बताए । विद्युतको माग बढेसँगै पुराना संरचनाले भार थेग्न नसक्दा बारम्बार प्राविधिक समस्या देखिने गरेको उनले बताए । उनले नयाँ लाइन निर्माण, ट्रान्सफर्मर स्तरोन्नति, नियमित मर्मत–सम्भार तथा रुखका हाँगा व्यवस्थापनका कामलाई प्राथमिकता दिएको बताए ।