विजयपुर । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका सूर्यबहादुर भट्टराई (मनोज) दुई कार्यकालसम्म धरान-१७ का वडाध्यक्ष भई सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेका नेता हुन् ।

स्थानीय तहको नेतृत्व, जनसेवा र विकास निर्माणमा अनुभव बटुलेका भट्टराई स्पष्ट विचार र सक्रिय भूमिकाका कारण छुट्टै राजनीतिक पहिचान बनाउन सफल भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका भट्टराई फरक सोच, स्पष्ट एजेन्डा र स्थानीय अनुभवका आधारमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् ।

भट्टराईको राजनीतिक यात्रा कक्षा ११ मा अध्ययन गर्दादेखि सुरु भएको हो । बदलिंदो समय र परिस्थिति अनुसार माले हुँदै एमाले र अहिले नेकपामा आवद्ध उनी विद्यार्थी आन्दोलनबाट नै समाजसेवामा सक्रिय थिए । २०५४ सालको निर्वाचनताकै विद्यार्थी राजनीतिक गतिविधिमा उनी अग्रसर थिए ।

सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली दिन्थे, 'दलको झोले' भनेर दानवीकरण गर्थे 

२०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट धरान-१७ का वडाध्यक्षमा निर्वाचित भट्टराईले पहिलो कार्यकालमा गरेको कार्यसम्पादनकै आधारमा जनताको मन जिते । पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि उनी २०७९ सालमा पुनः उम्मेदवार बन्ने सोचमा थिएनन् । तर, पार्टीका नेता तथा कार्यकर्ताको आग्रहपछि उनी पुनः चुनावी मैदानमा उत्रिए । 'म एक कार्यकाल वडाध्यक्ष भएपछि फेरि उम्मेदवार बन्ने सोचमा थिइनँ', उनी भन्छन्, 'पार्टी र कार्यकर्ताको आग्रह पश्चात फेरि उम्मेदवार बनेँ ।' दोस्रो पटक पनि उनले अघिल्लो निर्वाचनभन्दा बढी मत ल्याउँदै सानदार जित हासिल गरे । तर, दोस्रो कार्यकालको सुरुवात सहज रहेन । तत्कालीन स्वतन्त्रबाट निर्वाचित धरान नगर प्रमुख हर्कराज राईसँग पहिलो कार्यपालिका बैठकदेखि नै सम्बन्ध तिक्ततापूर्ण बन्यो । कार्यपालिका बैठकलाई प्रत्यक्ष प्रसारण (लाइभ) गरिएको थियो । उनी हर्कका नीतिविरुद्ध कार्य र विषयमा खरो रूपमा आफ्नो धारणा राख्थे । त्यही आधारमा हर्कका समर्थकले सामाजिक सञ्जालमा उनको दानवीकरण गर्थे । 'त्यतिबेला वडाध्यक्ष र कार्यपालिका सदस्यहरू बोल्न नै मन गर्नुहुन्न थियो', उनी सम्झिन्छन्, 'किनकि बोल्नासाथ हर्कका समर्थकले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली दिन्थे, 'दलको झोले' भनेर दानवीकरण गर्थे ।' तर उनी निरन्तर रूपमा अन्यायविरुद्ध लडिरहे ।

'हर्क र उनका समर्थकले मलाई ढुङ्गा हानिरहे, अहिले मैले त्यही ढुंगा टिपेर हिँड्ने सडक बनाएको छु ।'

उनलाई हर्कका समर्थकले सामाजिक सञ्जालमा मात्र नभई भौतिक रूपमा समेत आक्रमणको प्रयास गरे । यद्यपि, उनी पछि हटेनन् । हर्कका नीतिविपरीतका काम र अन्यायविरुद्ध निरन्तर आवाज उठाइरहे । 'हर्क र उनका समर्थकले मलाई ढुङ्गा हानिरहे', उनी भन्छन्, 'अहिले मैले त्यही ढुंगा टिपेर हिँड्ने सडक बनाएको छु ।' उनी हर्क अराजकताविरुद्ध लडाई र उनका समर्थकको व्यवहारले नै आफूलाई उम्मेदवारका रूपमा उभ्याउन सहयोग गरेको बताउँछन् । अहिले हर्कका कार्यकर्ताबाहेक अन्य धेरै नागरिकले आफूलाई समर्थन गर्ने उनको विश्वास छ ।

'यो मेरो व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, परिस्थितिको उपज हो । पार्टी नेतृत्व र कार्यकर्ताको सुझावपछि म मैदानमा आएको हुँ ।'

प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने निर्णयबारे उनी भन्छन्, 'यो मेरो व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, परिस्थितिको उपज हो । पार्टी नेतृत्व र कार्यकर्ताको सुझावपछि म मैदानमा आएको हुँ ।' मतदाताको अपेक्षाः जनजीविका सवाल र पूर्वाधार विकास प्रमुख प्राथमिकता रहेको बताउँछन् । शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने माग व्यापक रूपमा उठेको उनको भनाइ छ । सुनसरी क्षेत्र नं. १ लाई उनी तीन भूभागमा विभाजन गर्छन्: धरान, बराहक्षेत्र र रामधुनी । तीनवटै क्षेत्रको भौगोलिक अवस्था, संस्कार, संस्कृति र आवश्यकतामा भिन्नता रहेको उनको विश्लेषण छ । निर्वाचित भएमा पहिलो प्राथमिकता धरानमा एकता र सद्भाव कायम गर्ने उनको भनाइ छ । दोस्रो, धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने । 'खानेपानीजस्तो नैसर्गिक अधिकार चुनावी एजेन्डा बन्नु लाजमर्दो विषय हो', उनी भन्छन् । उनी बराहक्षेत्र र रामधुनीलाई सडक सञ्जालमा जोड्ने प्राथमिकतामा राखेका छन् । उनी सडक विकासका पूर्वाधारको पनि पहिलो शर्त भएको बताउँछन् ।