विराटनगर । कोशी प्रदेशसभाको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन् ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब १० अर्ब रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण गरिएको उल्लेख छ ।
आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ७२ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८१/८२ मा सुधार भई तीन दशमलव १३ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६७ दशमलव पाँच प्रतिशत रहने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ ।
उनले आर्थिक वर्ष २०८१/८२ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४ सय १० अमेरिकी डलर रहने प्रक्षेपण छ । रासस