विजयपुर । धरान उपमहानगरपालिका–५ स्थित देउराली उपभोक्ता समितिले कसैसँग पनि रकम नउठाएको पत्रकार सम्मेलन गरी जनाएको छ ।

बुधबार देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पत्रकार सम्मेलन गरेर रकम नउठाएको स्पष्ट पारेको हो । सामजिक सञ्जालमा  कतै ५ सय रुपैयाँ कतै १ हजार रुपैयाँ रकम असुलेको प्रचार–प्रसार भएपछि पत्रकार सम्मेलन गरेर रकम नअसुलेको स्पष्टीकरण दिएको हो । समितिका अध्यक्ष जीवन लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सञ्जालमा रकम उठाएको भन्ने कुरा सत्यता नभएको उल्लेख छ ।

“पुरानो खानेपानी पाइप लाइन मर्मत तथा नयाँ खानेपानी पाइप लाइन विस्तार कार्यमा आम उपभोक्ताहरुको विगत जस्तै पुनःश्रमका लागि आव्हान गर्न टोल विकास संस्थाहरुलाई निर्देशन गरेकोे” उल्लेख छ ।

“खानेपानी उपभोक्ता सदस्य गयल रहँदा देउराली खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले कुनै पनि टोल विकास संस्था वा अन्य निकायलाई श्रमदानको नाममा उपभोक्ताबाट रकम, चन्दा वा जरिबाना उठाउन निर्देशन दिएको छैन” विज्ञप्तिमा भनिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष लिम्बूले आफूहरूले रकम नउठाएको बताउँदै तल्लो देउराली सामुदायिक टोल विकास संस्थाका अध्यक्ष कवि याक्खाले जरिबानाको नाममा प्रतिसदस्य १ हजार रुपैयाँ उठाउने गरेको दाबी गरे ।

उनले खानेपानीको श्रमदानमा नजानेलाई १ हजार रुपैयाँ उठाउने गरेको दाबी गरे । तल्लो देउराली सामुदायिक टोल विकास संस्थाका अध्यक्ष याक्खाले ब्लाष्टसँगको फोनसम्पर्कमा खानेपानीको श्रमदानमा नजानेलाई १ हजार रुपैयाँ लिने गरेको स्वीकार गरे । उनले भने, “देउराली खानेपानी सुरुवातदेखि नै श्रमदानबाट चल्दै आएको हो । अहिले डिपबोरिङबाट पाइपलाइनको काम भइरहेको छ । खानेपानी समितिबाट श्रमदानमा टोल विकास संस्थाका सदस्य पठाउन अनुरोध आएपछि पठाइयो । कोही गए, कोही गएनन् ।”

श्रमदानमा जानेहरूबाट आफूहरू मात्र जाने, अरू नजाने भन्ने गुनासो आएको बताउँदै अध्यक्ष याक्खाले भने, “टोल विकास संस्थाबाट निर्णय गरेर नजानेहरूबाट प्रतिसदस्य एक हजार रुपैयाँ लिने गरेका छौँ । टोल विकास संस्थामा निर्णय गरेर उठाएको हो । कहाँ खर्च गर्ने भन्ने पनि निर्णय गरेका छौँ । हामी पनि पत्रकार सम्मेलन गर्छौं ।”