धरान । याक्थुङ फिल्म्सको ब्यानरमा निर्मित लिम्बू चलचित्र ‘सेमिफुङ’ हङकङमा प्रदर्शन हुने भएको छ ।

याक्थुङ मुन्चइत चाेक सयङ हङकङको आयोजनामा फिल्म प्रदर्शन हुन लागेको हो । निर्देशक रणवीर लिम्बू शेर्माले निर्देशन गरेको फिल्ममा लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति र परम्परामा आधारित छ । चलचित्रमा निर्मातासमेत रहेका बविन आङ्दाम्बे, चन्दा थेगिम, सतिका सुव्बा, सिडी बेघा, निर्मला देवान, सङ्गीता लावती, त्रिभुवन लुङ्फुङ्वालगायतको मुख्य अभिनय रहेको छ ।

हङकङस्थित याउ मा तेइ कम्युनिटी हलमा आगामी फेब्रुअरी १ तारिखका दिन चलचित्र प्रदर्शन हुने तय भएको छ । चलचित्रमा लिम्बू समुदायको संस्कार, संस्कृति र रीतिरिवाजमा आधुनिकतावाद र विभेदले पारेको प्रभावलाई चित्रण गरिएको कलाकार सङ्गीता लावतीले जानकारी दिइन् । नेपाली खस र लिम्बू भाषा दुवैमा निर्माण गरिएको चलचित्र ‘सेमिफुङ’को अर्थ ‘उज्यालो फूल’ रहेको छ । लिम्बू समुदायको संस्कार र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले चलचित्रलाई विदेशका विभिन्न सहरहरूमा प्रदर्शन गरिने लावतीले बताइन् ।

हङकङमा यसको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन हुन लागेको हो । हङकङपछि युके, दक्षिण कोरियालगायतका देशहरूमा पनि प्रदर्शनको तयारी भइरहेको उनले जानकारी दिएकी छन् । बविन आङ्दाम्बे र शेरबहादुर पतङ्वाको निर्माणमा बनेको फिल्मको कथा तथा संवाद राज थापा काउचाको रहेको छ ।

yakthung